अर्थ

सामग्री अभावले १२ तले काठमाडौँ टावर निर्माणमा ढिलाइ

काठमाडौं – निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौं टावरको निर्माण कार्य अन्योलमा परेको छ।

टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटवालले जानकारी दिए। उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्ने छ।

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने भइरहेको छ। भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आयसँगै निर्माण कार्यले गति लिने बताइएको छ। निर्माणलाई तीव्ररुपमा अघि बढाउनकै लागि भनी गत वैशाखको पहलो साता पुरानो बसपार्कमा आवतजावत गर्ने सबै यातायातका साधनलाई खुल्लामञ्चमा स्थानान्तरण गरिसकेको छ।

भूकम्पपश्चात् भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तल्लाको बनाउने तयारी छ। नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ।

कामपासँग गरेको सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन्। काम सुरु भएको ३ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ।

टावरको लागत रु. ३ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जातनकारी दिए। भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहने छ। त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ। भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ। रासस

प्रकाशित: २४ जेष्ठ २०७३ ०६:५२ सोमबार

सामग्री अभावले १२ तले काठमाडौँ टावर निर्माणमा ढिलाइ