अर्थ

दैनिक करिब तीन हजार युवा विदेशतिर

वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागले पछिल्लो समय करिब तीन हजार नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश जाने गरेको जानकारी गराइएको छ। वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। विभागका निर्देशक कृष्णप्रसाद भुसाल हरेक दिन विदेश जानेको संख्या अत्यधिक रूपमा बढ्दै गएको बताए। दिनप्रति दिन देशमा रोजगार नहुँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएको भुसालले जानकारी दिए।

वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको भूसालले बताए। वैदेशिक रोजगारीको लागि मंसिर ११ गते २ हजार ६ सय ६० जना गएका मध्ये २ हजार ३ सय ९८ पुरुष र २ सय ६२ जना महिला रहेको विभागका निर्देशक भुसालले बताए।

त्यस्तै मंसिर १२ गते गएका ३ हजार १ सय ९५ जनामध्ये २ हजार ८ सय ५६ पुरुष र ३ सय ३९ जना महिला रहेका छन्। मंसिर १३ गते गएका २ हजार २ सय ८६ जनामध्ये २ हजार ७३ जना पुरुष र २ सय १३ जना महिला विदेश पलायन भएका छन्। त्यसरी नै मंसिर १४ गते २ हजार ६ सय २ जना वैदेशिक रोजगारीमा गएकामध्ये २ हजार ३ सय ६३ जना पुरुष र २ सय ३९ जना महिला रहेको जानकारी भुसालले दिए।

उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो। यसमध्ये दैनिक करिब २ हजार जनाले कार्यालयमा भौतिक उपस्थिति भएरै स्वीकृति लिइरहेका छन् भने आठ सय जनाले अनलाइन मार्फत स्वीकृति लिने गरेका छन्। यो संख्याले श्रम गन्तव्य मुलुकमा नेपाली कामदारको माग बढिरहेको देखाएको विभागका अधिकारीहरू बताउँछन्। निर्देशक भुसालले विदेशका उत्पादनमूलक उद्योगले कामदार उच्च संख्यामा मागिरहेको बताए।

गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा संस्थागत तथा व्यक्तिगत गरी ६ लाख ३० हजार ९० जना कामदार विभिन्न गन्तव्य मुलुकमा गएको विभागको तथ्यांकले बताउँछ। जसमध्ये, ५ लाख ८० हजार ९ सय ६२ जना पुरुष र ४९ हजार १ सय २८ जना महिलाले रहेका छन्। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा संस्थागत र व्यक्तिगत गरी १ लाख ६६ हजार ६ सय ९८ जना मध्ये १ लाख ५५ हजार २ सय ४२ जना पुरुष र ११ हजार ४ सय ५६ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ।

यसरी हेर्दा ७७/०७८ को आर्थिक वर्षमा कोभिड १९ ले गर्दा विभिन्न गन्तव्य मुलुकमा रोजगारको अवस्था नाजुक थियो। साथै कोभिड १९ ले वैदेशिक रोजगारीमा जान रोक लगाइएको हुँदा ७७/०७८ मा वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै घटेको देखिन्छ। कोरोना महामारी सुरु हुनुअघि बर्सेनि पाँच लाख युवा श्रम स्वीकृति लिएर जाने गर्थे। महामारी सुरु भएको दुई वर्ष यो संख्या निकै घटेको थियो।

आर्थिक वर्ष २०७६/७७ मा संस्थागत र व्यक्तिगत गरी ३ लाख ६८ हजार ४ सय ३३ जना वैदेशिक रोजगारीमा पलायन भएका थिए। जसमध्ये ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला रहेको वैदेशिक रोजगार विभागले बताएको छ।

कोभिडका कारण लामो समय वैदेशिक रोजगार अस्तव्यस्त हुनु तथा देशमा रोजगारीका अवसर खुम्चिनुले यो संख्या बढेको भुसालले बताए। ‘कोभिडका कारण करिब दुई वर्ष त कतिपय गन्तव्य मुलुकमा बन्देज नै लगाइयो। त्यसमाथि देशमा रोजगारीका अवसर पर्याप्त भएन। यसले गर्दा पनि वैदेशिक रोजगारीमा आकर्षण देखियो,’ उनले भने।

वैदेशिक रोजगार विभागका अर्का अधिकारी दिपक ढकालले अहिले वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले रेमिटेन्स पनि बढ्दै गएको जानकारी दिए। सामान्यतया कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएको तेस्रो महिनादेखि उसले रेमिट्यान्स पठाउन थाल्छ। पहिलो र दोस्रो महिनाको कमाइ उसले आफ्नो व्यवस्थापनमा लगाउने र तेस्रो महिनादेखि केही न केही रकम पठाउन थाल्छ। विदेश पुगेर काम नपाउने समस्या हुनेहरूले भने पैसा पठाउन नसकेको बताए।

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाले पनि कोभिडपछि लामो समय आप्रवासी श्रमिक प्रवेशमा रोक लगायो। जसले गर्दा गत वर्ष नेपाली युवाहरू साउदी पुगेका थिए। मलेसियाले २०७८ फागुनदेखि बल्ल श्रमिकका लागि बाटो खुला गरेको हो। योसँगै नेपाली युवाहरूको ध्यान मलेसियातर्फ तानिएको छ।

गत आर्थिक वर्षको तथ्याङ्कअनुसार सबैभन्दा धेरै नेपालीहरू मजदुरका रूपमा गएको देखिन्छ। त्यसैगरी सरसफाइ गर्ने कामदार, कारखानाका कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका भुसालले बताए।

म्यानपावरमार्फत्‌ नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेको तथ्याङ्कले देखाउँछ। पछिल्लो समयसबै भन्दा बढी व्यक्तिगत तर्फबाट वैदेशिक रोजगारीका लागि युएई जाने गरेको तथ्याङ्कमा पाइएको छ।

यहि वैशाखदेखि भदौसम्मको अन्तरालमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी सिप भएका व्यक्तिहरू जाने गरेको भुसाल बताउँछन्। वैदेशिक रोजगारीका लागि जानेहरूमध्ये सिप भएका श्रमिक वैशाखदेखि भदौ सम्ममा जम्मा १ लाख ८३ हजार २ सय ९३ जना मात्र गएको तथ्याङ्कबाट देखिन्छ।

त्यस्तैगरी वैदेशिक रोजगारीमा सिप नभएका श्रमिकको संख्या १ लाख ३ हजार १ सय ९७, अर्ध दक्षमा २२ हजार ७ सय २०, व्यावसायिकमा ३ सय ८१ र पूर्ण दक्षमा सबै भन्दा कम ५७ जना रहेका छन्।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार म्यानपावर कम्पनीमार्फत २०७९ को बैसाखमा २ हजार ५ सय ३८ जना वैदेशिक रोजगारका लागि मलेसिया गएका छन्। त्यस्तै गरी जेठमा ७ हजार १ सय ४१, असारमा १५ हजार ७ सय ८०, साउनमा २२ हजार ३ सय ६१ र भदौमा ३३ हजार ३ गरी यो पाँच महिनामा मलेसिया जाने जम्मा संख्या ८० हजार ८ सय २३ जना रहेका छन्।

केही वर्ष पहिले साउदी अरब जानेको संख्या अत्यधिक मात्रामा बढेको थियो। अहिले भने मलेसिया जानेको संख्या उच्च स्थानमा रहेको विभागको निर्देशक भुसालले बताए। 

प्रकाशित: २२ मंसिर २०७९ ०२:३४ बिहीबार

वैदेशिक रोजगार विभाग