अर्थ

सूर्य नेपाल गल्फ टूरको नयाँ सिजन सुरु हुँदै

सूर्य नेपाल गल्फ टूरको नयाँ सिजन मंगलबारदेखि सुरु हुने भएको छ।

सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुनेछ। प्रोफेशसन गल्फर संघ, नेपालको आयोजनामा हुने गल्फ टूरको यो १५औं संस्करण हो। संघले गल्फ टूरका नाममा एक सिजन देशका चार गल्फ कोर्षमा ८ वटा प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

सूर्य नेपाल काठमाडौं ओपनमा कुल ३१ व्यावसायिक गल्फरले ६ लाख ७० हजार रुपैयाँ पुरस्कार राशिमा आफ्नो सीप परीक्षण गर्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रो हुनेले ६३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कुल पुरस्कार राशी ६ लाख ७० हजार रुपैयाँ छ। शीर्ष २१ स्थान र टाईले नगद पुरस्कार प्राप्त गर्नेछन्।

भारतको प्रोफेशनल गल्फ टुरमा नेपाल नम्बर एक र नियमित रहेका शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, सञ्जय लामा र रामे मगर मुख्य दावेदार हुन्। एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सूर्य नेपाल गल्फ टुर १५ औँ वर्षमा पुगेको र यो नेपालमा व्यावसायिक र साैखिन दुवैका लागि प्रतिस्पर्धात्मक गल्फको लागि उत्कृष्ट प्लेटफर्म भएकाे बताए।

प्रकाशित: १९ मंसिर २०७९ १३:३६ सोमबार