अर्थ

‘डेस्टिनेसन वेडिङ’ ले ठुला होटललाई राहत

पुरै होटल बुकिङ गरेर वैवाहिक गतिविधि गर्दा पर्यटन क्षेत्रमा राहत

पर्यटकीय क्षेत्र लेकसाइड। ‘डेस्टिनेसन वेडिङ’ फस्टाउँदा पर्यटनमा राहत मिल्ने गरेको यहाँका व्यवसायीको भनाई छ। तस्बिरः नागरिक

पर्यटनको मुख्य सिजन सकिनै लागेको छ। पर्यटन व्यवसायीका अनुसार डिसेम्बर मध्यदेखि जनवरीभर खासै विदेश पाहुना आउँदैनन्, बरु आएका पाहुना पनि यो बेला स्वदेश फर्किन्छन्। कोरोना भाइरस सङ्क्रमणले थलिएको पर्यटन क्षेत्रमा यसै त सिजनको आगमन कमजोर थियो, त्यसैमा सिजन सकिँदै जाँदा यति बेला विदेशी पाहुना निकै नै कम छन्। आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र धानिएको छ।

पर्यटन क्षेत्रले कमाउने मुख्य आधार नै स्वदेशी तथा विदेशी पाहुनाको आगमन र उनीहरूका गतिविधिबाट हो। तर, कोरोना सुरु भएपछि पाहुनाको आगमन नै पहिले जति हुन सकेको छैन। आन्तरिक र केही भारतीय पाहुना तथा सीमित तेस्रो मुलुकका विदेशीबाट अहिले जेनतेन पर्यटन क्षेत्र धानिएको छ। त्यसबाहेक बेलाबेला हुने सभा, सम्मेलन, भेला, गोष्ठी, बैठक जस्ता गतिविधिले पनि पर्यटनमा राहत दिने गरेका छन्।  

पर्याप्त विदेशी पाहुना नपाएको अवस्थामा औपचारिक कार्यक्रमका लागि आएका पाहुनाका कारण पर्यटन क्षेत्रले केही सास फेर्न सकेको व्यवसायीले बताउने गरेका छन्। तर, पछिल्लो समय पर्यटनमा आम्दानीको नयाँ श्रोत थपिँदै जान थालेका छन्। ती हुन वैवाहिक गतिविधि। स्वदेशी र विदेशी पाहुनाको आगमनमा मात्र भर परेको पर्यटन क्षेत्रमा पछिल्लो समय वैवाहिक गतिविधिले साथ दिँदा यहाँका होटेल र रेस्टुरेन्टलाई आर्थिक रूपमा ठुलै साथ मिलेको व्यवसायीले बताउने गरेका छन्। वैवाहिक गतिविधिमा एकै पटक ठुलो आकारमा पाहुना आउने र उनीहरूलाई आतिथ्यता दिलाउँदा पर्यटन क्षेत्रले पर्याप्त लाभ पाउन थालेको उनीहरुको भनाई छ। पर्यटन व्यवसायीले ‘डेस्टिनेसन वेडिङ’ बाट पर्यटन क्षेत्रले ठुलो राहत पाएको बताउँछन्।

सञ्चालनमा रहेको पोखराको एक मात्र पाँचतारे होटेल पोखरा ग्राण्डमा यो पटक मंसिर १० देखि विवाहका कार्यक्रम हुन थालेका थिए। अहिलेसम्म दर्जन बढी विवाह होटलबाट भईसकेका छन्। विवाह र भोजभतेरले गर्दा पाँचतारे होटललाई अहिले व्यवस्थापनमा भ्याइ न भ्याई छ। मङ्सिरको अन्तिमसम्म विवाहका अझै एकदर्जन कार्यक्रम तय भइसकेको होटलले बताएको छ। पोखरा ग्राण्डका वरिष्ठ बिक्री प्रबन्धन कमल शेरचनका अनुसार अहिले पनि दिनमा २–३ वटा वैवाहिक गतिविधि भइरहेका छन्।  

‘पर्यटनमा जस्तै यो बेला विवाहको पिक सिजन चलिरहेको छ। जसले पर्यटनमा ठुलो साथ दिएको छ,’ शेरचन भन्छन्, ‘अरू पाहुना कम भएको बेला वैवाहिक गतिविधिका कार्यक्रम हुँदा होटललाई आर्थिक रूपमा साथ मिलेको छ।’ उनका अनुसार गत मंसिर १० गतेदेखि अहिलेसम्म एक दर्जन विवाहका कार्यक्रम भईसकेका छन्। ‘मंसिर महिनाभरका लागि हरेक दिन जसो विवाह कार्यक्रम भइरहेका छन्। कोरोनाले थलिएको पर्यटन क्षेत्रमा अरू पाहुना कम भए पनि वैवाहिक गतिविधिले गर्दा व्यवसायलाई राहत मिलेको छ,’ उनले भने, ‘विवाहका यी गतिविधि नहुँदो हो त पर्यटन क्षेत्रलाई वास्तवमा संकट आइलाग्थ्यो।’ उनका अनुसार एउटै वैवाहिक कार्यक्रममा एक हजार जनासम्म पाहुना हुन्छन्। केही दिन अघिको एउटा कार्यक्रममा झन्डै १२ सय जना पाहुना थिए । ‘मंसिर महिनाभरका लागि दिन खालि छैन,’ उनले भने।  

शेरचनका अनुसार पछिल्लो समय विवाहका गतिविधि यतिसम्म महँगा हुन्छन् की काठमाडौं, वीरगन्ज, बुटवल, भैरहवा, नेपालगन्ज देखि व्यवसायीहरू परिवारै लिएर विवाहका लागि पोखरा आउँछन्। व्यावसायिक घरानाका उनीहरूले ठुलो संख्यामा आफन्त र साथीभाइ ल्याएका हुन्छन्। त्यत्ति मात्र नभई एउटै विवाहको अर्को समूह पनि उत्ति नै संख्यामा आफन्त र परिवार लिएर पोखरा आएका हुन्छन्। बेहुला र बेहुली दुवै पक्षका पाहुना फरक होटेलमा बस्छन्। अनि विवाह गरेर फर्किन्छन्।  

‘वैवाहिक पाहुनाका कारण होटेल पुरै प्याक गरिन्छ। कहिलेकाहीँ त विवाहका बाहेक अरू पाहुना पनि राख्न पाइन्न,’ उनले भने, ‘भएजतिका पाहुना विवाहका सहभागी हुने भएकोले अरू पाहुनालाई ठाउँ अभाव पनि हुन्छ।’ 

व्यावसायिक घरानाका पाहुना ‘डेस्टिनेसन वेडिङ’ का लागि पोखरा आउने क्रम बढेको उनले सुनाए। ‘बेहुला र बेहुली पक्षकै पाहुनाको जमघट हुँदा त पाहुनाको आकार पनि ठुलो हुने गरेको उनले बताए। ‘होटलको अतिरिक्त आम्दानी हाम्रो सांस्कृतिक गतिविधिले जुटाएको छ, यो ट्रेन्ड निकै नै बढिरहेको छ,’ शेरचनले भने, ‘यस्ता गतिविधिका लागि प्रवर्द्धनात्मक गतिविधि समेत गरिँदैन। पोखरा भित्रैका बासिन्दा खोजिखोजी यस्ता गतिविधि गर्न होटेल आउँछन्।’  

शेरचनका अनुसार सिजनका लागि यो खालको व्यवसायले पर्यटनमा ठुलो राहत दिन्छ। ‘कर्पोरेट भन्दा पनि विवाहको बिजनेस फस्टाएको छ। कर्पोरेट बिजनेसमा सीमित संख्यामा मात्र पाहुना आउँछ, तर, वैवाहिक जमघटमा पाहुना अधिक हुन्छन्,’ उनले भने, ‘एकै दिन विवाहका तीन वटा गतिविधि भएका छन्’ विवाहका गतिविधि गर्दा होटलका पुरै कोठा नै लिएर खर्च गर्ने क्षमता राख्ने पाहुना समेत आउने हुँदा विदेशीको अभावमा पनि केही सहज भएको उनले बताए।  

लेकसाइडको माउन्ट कैलाश रिसोर्ट पनि वैवाहिक गतिविधि गराउने मध्येमा पर्छ। माउन्ट कैलाशका संचालक नरेश भट्टराईका अनुसार विवाहका यस्ता गतिविधिले पर्यटन क्षेत्रमा निकै नै राहत दिएको छ। माउन्ट कैलाशले मात्र यो महिनामा तीन वटा वैवाहिक गतिविधि गराईसकेको छ। अझै चार वटा बुकिङ भईसकेका छन्। ‘अरू विदेशी पाहुना कम भएको बेलामा विवाहका यस्ता गतिविधिले पर्यटन क्षेत्रलाई राहत दिएको छ,’ उनले भने, ‘व्यवस्थापन गर्न सकेमा यस्ता गतिविधिले विशेषगरि होटललाई आर्थिक रूपमा लाभ दिन्छन्।’  

उनका अनुसार होटेलमा यस्ता गतिविधि गर्दा त्यहाँ बास बसेका पाहुनालाई भने अप्ठेरो पार्नुहुँदैन। ‘यो अतिरिक्त व्यवसाय हो । अहिले त झन् प्रतिस्पर्धाले गर्दा केही कम भएको छ।

धेरै होटेलमा यस्ता गतिविधि हुँदा व्यवसाय बाँडिएको छ,’ भट्टराईले भने, ‘नत्र त यो व्यवसाय झनै राम्रो छ। आर्थिक कारोबार पनि नगदमा हुने हुँदा झनै लाभ हुन्छ।’ 

सिजनमा मात्र माउन्ट कैलाशले कम्तीमा १०–१२ वटा विवाहका गतिविधि एकै महिनामा गर्ने उनले बताए। ‘बरु बुकिङ गरेका पाहुना आउन नसकेमा नोक्सान हुन्छ। तर, यस्ता गतिविधि हत्तपत्ति रद्द पनि हुँदैनन्। यस्ता गतिविधिमा स्थानीय हुनेखाने नै बढी जसो सहभागी हुन्छन्,’ उनले भने।  

व्यवसायीका अनुसार ठुला होटेल, पर्याप्त पार्किङ क्षमता राख्ने, जनशक्ति पर्याप्त र गुणस्तर कायम गर्ने होटललाई अहिले वैवाहिक गतिविधिले आर्थिक रूपमा लाभ दिएका छन्। केही समय अघिसम्म मन्दिर र पार्टी प्यालेसमा मात्र सीमित रहने यस्ता गतिविधि अहिले पाँचतारे होटलसम्म उक्लिएको क्विन्सपार्क होटलका म्यानेजर तुलसी लामिछानेले बताए। 

लामिछानेका अनुभवमा पोखराका ठुला र चल्तीका होटललाई अहिले वैवाहिक गतिविधिले निकै नै राहत दिएका छन्। सहरका पार्टी प्यालेस र मन्दिरमा यस्ता जमघट गराउँदा व्यवस्थापनमा सकस हुने भएपछि अहिले हुनेखानेहरू चल्तीका होटेल खोज्न थालेका छन्। जहाँ होटेल आफैले सबै व्यवस्थापन गरिदिन्छ। भारतीय व्यावसायिक घराना समेत विवाहका कार्यक्रम लिएर पोखरा आउने गरेको उनले सुनाए।

‘डेस्टिनेसन वेडिङ’ निकै नै खर्चिलो गतिविधि हो। भारतीय व्यावसायिक घरानाका परिवारै विवाहका गतिविधिका लागि पोखरासम्म आउने गरेका छन्,’ उनले भने, ‘निकै नै ठुलो धनराशि यस्ता गतिविधिमा खर्चन्छन्। यसले पर्यटन प्रवर्द्धनमा पनि सघाएको छ। भारतदेखि आएका पाहुनाका कारणले पनि पर्यटन प्रवर्द्धन भएको छ। कैयौँ दिनसम्म होटलको सबै कोठा बुकिङ गरेर यस्ता पारिवारिक गतिविधि हुने गरेका छन्।’ 

उनका अनुसार सबै खाले होटलले यो लाभ नपाएपछि ठुला आकारका अधिकांश होटेल अहिले यस्ता गतिविधिमा आकर्षित हुने गरेका छन्। यसले पर्यटन पनि फस्टाएको छ, पारिवारिक सम्बन्ध पनि बढाएको छ।

प्रकाशित: १८ मंसिर २०७९ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App