अर्थ

खोटाङको हलेसीमा सौर्य बत्ती जडान

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान गरिएको छ। उज्यालो हलेसी कार्यक्रम अन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु. १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्य बत्ती जडान गरिएको हो।

बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्था ध्यानमा राखेर सौर्य बत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले बताए। महेन्द्रोदय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्य बत्तीको व्यवस्था गरिएको छ।

सौर्य बत्ती जडानपछि मर्मत-सम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने छ। उज्यालो हलेसी कार्यक्रम अन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु. एक करोडमा एक सय २६ सौर्य बत्ती जडान गर्ने तयारी भइरहेको गिरीले जनाए।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले रु. सात लाखमा ११ ठाउँमा सिसी क्यामेरा समेत जडान गरेको छ।

हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा पाँच दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा तीनतीन दिन तथा बोलबमको अवसरमा साउनको हरेक सोमबार ठूलो मेला लाग्छ। हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ।

प्रकाशित: १६ मंसिर २०७९ ०६:०४ शुक्रबार

उज्यालो हलेसी कार्यक्रम