अर्थ

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ।

प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा लगायतका जिल्लाका दक्षिणी भेकमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो। भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर रूपमा चार सय केभी क्षमताको चार सर्किट प्रसारण लाइन र सवस्टेसन निर्माण गरिने छन्।

चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट चार सय केभी र तल्लो दुई सर्किट एक सय ३२ केभी क्षमताका प्रसारण लाइन सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ठाउँठाउँमा सवस्टेसनको निर्माण गरिनेछ।

अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सवस्टेसन रहने स्थान तयार भइरहेको छ। बारा बर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब तीन हजार दुई सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन्। यसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुनेछ।

प्रसारण लाइन तथा सवस्टेसन निर्माणका लागि रु.५० अर्बभन्दा बढी लाग्ने छ। यो रकम नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंक लगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमानघिसिङले बताए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदाता लगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित  लाइन निर्माणस्थलको स्थलगत अनुगमन भ्रमण गरी चार सय र एक सय ३२ केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रूपमा निर्माण गर्न लागिएको बताए।

‘पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सवस्टेसन, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्’, घिसिङले भने।

केही प्रसारण लाइन तथा सवस्टेसन निर्माण भइरहेका छन्, केही तत्काल हुँदै छन् भने अन्य दीर्घकालीन रूपमा निर्माण गर्ने गरी सवस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्ने लगायतका काम भइरहेका छन्।

उनले भारततको मोतिहारी, सीतामणि, जयनगर विन्दुतर्फ पनि विद्युत् निर्यात गर्न सकिने बताए। बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा चार सय केभीको सवस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। त्यही चार सय केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिनेछ। बाराका प्रसौनीमा एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ।

जनकपुर क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका एक सय ३२ केभी क्षमताका सवस्टेसनको निर्माण भइरहेको छ। लोहरपट्टीमा एक सय ३२ केभी सवस्टेसन निर्माणाधीन छ।

यसैगरी ढल्केबर-बालगंगा एक सय ३२ केभी क्षमताका प्रसारण लाइन पनि निर्माणाधीन छ। रासस

प्रकाशित: १२ मंसिर २०७९ ०६:५२ सोमबार

नेपाल विद्युत् प्राधिकरण विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन