अर्थ

सिजनको पर्यटक आगमनः उत्कृष्ट भन्न मिल्दैन, सन्तोषजनक ठान्नुपर्छ

अन्नपूर्ण क्षेत्रमा पदयात्रामा रहेका विदेशी। फाइल तस्बिरः नागरिक

पर्यटन व्यवसायीका बिचारमा सेप्टेम्बरदेखि पर्यटनको मुख्य सिजन सुरु हुन्छ, जुन नोभेम्बरसम्म राम्रो हुन्छ। डिसेम्बर मध्यसम्म मध्यम रहने सिजन त्यसपछि ओरालो लाग्ने पुरानो ट्रेन्ड  हो। पर्यटकीय सिजनको यो अवधिमा पर्यटनले राम्रै फड्को मार्दै आएको थियो।  

कोरोना भाईरस संक्रमण सुरु हुनुअघि यो अवधिमा पर्यटन क्षेत्र निकै नै चम्किन्थ्यो। तर, कोरोनाले गर्दा खस्केको यो आगमनले अहिले कोरोना कमजोर हुँदा पनि पहिलेको आकारमा फर्किन सकेको छैन। सन् २०२२ मा पर्यटन क्षेत्रले कोरोनाबाट निकै नै माथि उठ्ने अपेक्षा गरेको थियो। तर, त्यो अनुरुप हुन नसकेको व्यवसायीले बताउँदै आएका छन्। भारतीय पर्यटक आगमनमा सोचेभन्दा बढी सुधार आइसकेपनि पश्चिमा राष्ट्रका पर्यटकको आकार अपेक्षाकृत हुन नसकेको उनीहरुको भनाई छ। चिनियाँ पर्यटक आउन थाल्ने हो भने पर्यटन क्षेत्रमा विदेशी पर्यटकको हिस्सा निकै नै बढ्ने व्यवसायी बताउँछन्।  

टेम्पल ट्रि रिसोर्टका संचालक बसन्त गौतमका अनुसार चिनियाँ पर्यटकको आगमन नभएकोले पर्यटनले कोरोना अघिको जस्तो आकार लिन नसकेको हो। ‘यो सिजनसँगको अपेक्षा निकै नै राम्रो थियो। सुरुमा सोधपुछ पनि राम्रो भएको हो। तर, त्यो अनुसार पाहुना भने आएनन,’ गौतमले भने, ‘कोभिड अघिको आकार भन्दा निकै नै कम रह्यो। कोभिडको समयको तुलनामा त निकै नै सुधार भएको हो, तर, कोभिड अघिको आकार भेटाउन भने सकेन।’

उनको बुझाईमा तेश्रो मुलुकका विदेशीको आगमन २०१९ को तुलनामा अझै ४० प्रतिशत कम छ। जुन पर्यटन बोर्डले पनि भनिरहेको छ। ‘२०१९ को आकार पाउने त बेला भएको छैन। तर, २०२२ को यो सिजनसँग हाम्रो अपेक्षा बढी थियो। प्रारम्भिक बुकिङ र सोधपुछले पनि सकारात्मक संकेत देखाएको थियो,’ उनले भने, ‘तर, पर्यटक आगमनमा अझै संख्या बढाउनुपर्ने आवश्यक छ।’ उनको अनुमानमा २०२३ को पहिलो सिजन (फेब्रअरी देखि सुरु हुने) मा पर्यटक आगमन अझै बढ्नेछ।  

‘हाम्रो अनुमान पनि २०२२ मा पर्यटन  क्षेत्र रिभाईभ हुने मात्र थियो। २०२३ मा निकै सुधार हुने र २०२४ मा बल्ल कोरोना अघिको आकार कट्ने हो,’ उनले भने, ‘कोरोनापछि छोटो समयमै गति लिएको मान्नुपर्छ। किनकी पर्यटन क्षेत्र कोभिडको बेला शुन्यमा झरेको थियो। शुन्यमा झरेको पर्यटन क्षेत्र कसरी उठाउने भन्ने चिन्ता थियो। तर, छोटो समयमै पर्यटनले गति लिएको हाम्रो बुझाई छ।’  

उनका अनुसार भारतीय पर्यटक आगमनमा भने सोचभन्दा बढी सुधार देखिएको छ। जुन–जुलाई भारतीय पर्यटक आउने मुख्य सिजन भएपनि त्यो भन्दा पनि बढी आगमन पछिल्लो सिजनमा रहेको गौतमले बताए। ‘भारतीय पाहुना त पर्यटन धानेका हुन। तेश्रो मुलुकका पर्यटकको भरमा बस्नुपरेको भए निकै नै सकसपूर्ण हुन्थ्यो। तर, भारतीय पर्यटक र त्यसमा आन्तरिक पाहुना पनि थपिँदा व्यवसायीले राहत अनुभव गरेका हुन,’ उनले भने, ‘भारतीय र आन्तरिक पाहुनाकै कारणले पर्यटन क्षेत्र यो अप्ठेरोमा पनि टिकेको हो।’  

विभिन्न सहरका चल्तीका होटलमा काम गरिरहेका अनुभवि व्यवस्थापन गुप्त गिरीले पनि यो पटकको सिजनसँग राम्रो अपेक्षा राखेको बताउँछन। तर उनले पनि त्यो अनुसार आगमनमा सुधार हुन नसकेको बताए। कोभिडको असर निकै नै तल झरिसक्दा पनि त्यसको असर अझै कम नभएको उनले बताए। ‘सिजनको सुरुवाती अवस्थामा हेर्दा कोभिड अगाडिको जस्तो पाहुना आगमन हुने अनुमान थियो। तर, सिजन सकिनै थाल्दा पनि सोचेजति हुन सकेन,’ गिरीले भने, ‘हरेक महिनामा सुधार हुँदै गएको पक्का हो। तर, पर्यटन व्यवसायीले सोचेजस्तो आगमन नपाएका हुन। उत्कृष्ट आगमन भन्न मिल्दैन, सन्तोषजनक ठान्नुपर्छ।’ गिरीको अनुभवमा पनि २०२३ को पहिलो सिजन अझै राम्रो हुनेछ।  

यो बेला चुनावी गतिविधिले गर्दा पनि पर्यटनमा चहलपहल झनै घटेको उनले सुनाए। त्यसबाहेक विश्वकप फुटबल प्रतियोगिताले गर्दा पनि उडान सेड्यूल प्रभावित हुँदा असर परेको छ। उनले डिसेम्बरमा चिसो बढ्ने र क्रिसमसका कारण विदेशीको आगमन कम हुने गरेको बताए। ‘२०२२ का लागि सिजन सकिएको हो। डिसेम्बर महिनाको आगमन अरु महिना भन्दा कमजोर हुन्छ। त्यसैले अब २०२३ को पहिलो सिजनको प्रतिक्षामा पर्यटन क्षेत्र रहेको छ,’ उनले भने।  

क्विन्स पार्कका म्यानेजर तुलसी लामिछाने पनि कोरोनापछिको सिजनलाई राम्रो ठान्छन। गत अक्टोवरको आगमनको हिस्साले पर्यटनमा सुधारका संकेत देखिएको लामिछानेले बताए। ‘कोभिडको लामो प्रभावपछिको यो आगमनलाई सुधार मान्नैपर्छ। किनकी शुन्यमा झरेको पर्यटनले लिएको गतिको आकार निकै नै ठुलो हो,’ लामिछानेले भने, ‘२०१९ कै आकार फेला पार्न त अझै केही समय कुर्नुको विकल्प छैन। तर, पर्यटनमा सुधार हुँदै आएको छ।’ यो सिजनमा चल्तीका होटलले पर्याप्त पाहुना पाएको र अरु मध्यमस्तरका होटलले भारतीय र आन्तरिक पाहुनाबाट लाभ लिएको उनले बताए।

‘प्रतिश्पर्धा र मुल्यका हिसाबले कसले कति लाभ लिन सक्यो, त्यो फरक पाटो हो,’ उनले भने, ‘तर, पर्यटन क्षेत्रले छोटो समयमा प्रगति गरेको हो।’ उनका अनुसार यो सिजनमा भारतीयको आगमन निकै नै उच्च रहयो। आन्तरिक पर्यटकले पनि मध्यमस्तरका होटल थामिन पुगे। ‘सबै परिस्थिति अनुकुल हुने हो भने २०२३ को सिजनले पर्यटनमा पक्कै लाभ दिनेछ,’ लामिछानेले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि सिजनसँगको अपेक्षा निकै नै बढी भएपनि त्यो अनुसार पाहुना नआएको बताउँछन। ‘अपेक्षा यो भन्दा बढी आगमन हुने थियो। तर, धेरै कमजोर आगमन पनि भएको मान्नु हुँदैन, व्यवसायीले सोचे झैं उत्कृष्ट पनि मान्नु पर्दैन,’ उनले भने, ‘सबै कुराले साथ दिने हो भने आगामि सिजन पर्यटन क्षेत्रका लागि सकारात्मक हुनसक्छ।’  

प्रकाशित: ११ मंसिर २०७९ १०:०८ आइतबार

कोरोना पछि पोखरा पर्यटनको मुख्य सिजन