अर्थ

स्वदेशी अभियानका सदस्यलाई छुट दिन माग

नेपाल उद्योग परिसंंघले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरूलाई सहुलियत दिन आग्रह गरेको छ। आठौं उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यस्तो आग्रह गरेका हुन्।

मेक इन नेपाल अभियानमा आवद्ध उत्पादनहरूलाई सहुलियत दिए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए। उद्योगहरूको महत्व बढाउने र उद्योगीहरूको समस्या समाधानमा सरकारी निकायले ध्यान दिन परिसंघले आग्रह गरेको छ।

कार्यक्रममा उद्योग सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध हुने सदस्यहरूलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताए। औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उनले उद्योग मन्त्रालय उद्योगीहरूलाई सहजीकरण गर्ने मन्त्रालय रहेको र उद्योगीहरूको समस्या समाधानमा प्रतिबद्ध रहेको उनले बताए। ‘कम्तिमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेका छौं,’ज्ञवालीले भने।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारी रूपमा आफ्ना गतिविधिहरूलाई अगाडि बढाउँदै आएको बताए। उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसंघ अगाडि बढ्दै आएको भन्नु हुँदै सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको बताए।

कार्यपत्र प्रस्तुत गर्दै परिसंघको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुहरूको आयात निरूत्साहित गर्नुपर्ने बताए। उद्योग तथा लगानी प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान तथा उनीहरूले पाउने सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउन एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरे।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत परिसंघ सदस्य उद्योगी व्यवसायीहरू सहभागी थिए। यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार’ रहेको छ।  

प्रकाशित: ९ मंसिर २०७९ ०५:४५ शुक्रबार

नेपाल उद्योग परिसंंघ औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार’