अर्थ

शेयर बजारमा सुधार

लगातार दुई दिनसम्म निरन्तर घटिरहेको शेयरबजार बिहीबार भने थामिएको छ। यो साताको अन्तिम दिन शेयर बजार ११.५६ अंकले बढेर निरन्तर घटिरहेको शेयर बजारमा केही उत्साह थप्ने काम गरेको छ। साताको अन्तिम दिन बिहीबार ११.५६ अंकले वृद्धि भएर शेयर बजार १९३३.५५ विन्दुमा पुगेको हो।

मंगलबार ७.१३ अंक र बुधबार भने ७.७२ अंकले घटेर १९२१.९९ बिन्दुमा झरेको थियो। बिहीबार २५ लाख ६९ हजार २ सय २९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजार ३ सय ८० रूपैयाँको शेयर कारोबार भएको छ।

बुधबारको तुलनामा बिहीबार शेयर कारोबार रकममा समेत कमी आएको छ। बुधबार २८ लाख ३९ हजार ३ सय ७३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २२ लाख रूपैयाँको मात्रै कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार भने ८ करोड रूपैयाँ कमको शेयर कारोबार भएको हो। बिहीबारको शेयरबजार निकै उतारचढावपूर्ण रह्यो। कारोबार सुरुहुने बेला शेयर केही अंक बढेर १९२६ विन्दुमा पुगेको थियो। फेरि घटेर १९१६ विन्दुमा आएको थियो तर बिहीबारको शेयर कारोबार बन्द हुने बेला भने १९३३.५५ विन्दुमा पुग्यो।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम दिन बिहीबार नेप्सेका तीन वटै परिसूचकमा हरियाली छाएको थियो। नेप्सेका अनुसार सेन्सेटिभ सूचक ३.०२ अंकले बढेको छ भने फ्लोट परिसूचक ०.७९ अंकले बढेको छ।

यसैगरी सेन्सेटिभ फ्लोट ०.८७ अंकले बढ्यो। सेयर बजारका १३ वटै उपसूचकमध्ये बिहीबार एउटा उपसूचकबाहेक अन्य १२ वटा उपसूचक बढेको थियो। बिहीबार निर्जीवन बीमातर्फ ३.२६ अंकले घटेको थियो। सबैभन्दा धेरै बढ्ने उपसूचकमा उत्पादन तथा प्रशोधनतर्फ ६०.२९ अंक, विकास बैकतर्फको ३७.९० अंकले वृद्धि भएको थियो।

सबैभन्दा धेरै बढ्ने कम्पनीमा बिहीबार घलेम्दी हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको शेयर ६.८३ प्रतिशतले वृद्धि भएको थियो। त्यसैगरी सबैभन्दा धेरै घट्ने कम्पनीमा किसान लघुवित्त वित्तीय सस्था रह्यो। सो कम्पनीको शेयर २.८९ प्रतिशतले घटेको थियो। 

प्रकाशित: ९ मंसिर २०७९ ०५:३७ शुक्रबार

शेयर बजारमा सुधार