अर्थ

सोलु-दुधकोशी जलविद्युत् आयोजना तयार: पानी खसालेर परीक्षण सुरु

निजी क्षेत्रको लगानीमा निर्माणाधीन ८६ मेगावाटको सोलु-दुधकोशी जलविद्युत् आयोजनाको संरचनामा पानी खसालेर परीक्षण थालिएको छ।

गत सोमबारदेखि सोलुखुम्बुस्थित ८६ मेगावाट आयोजनाको संरचनामा पानी पानी भरेर परीक्षण गरिएको हो। साहस ऊर्जा कम्पनी लिमिटेडका अध्यक्ष हिम पाठकले सोमबारदेखि आयोजनाको सुरुङ र पेनस्टकमा पानी पठाएर परीक्षण सुरुवात गरिएको बताए। ‘आयोजनाको सुरुङ र पेनस्टकमा पानी खसालेर परीक्षण सुरुवात गरेका छौं,’ उनले भने, ‘कुनै प्राविधिक समस्या नआएको खण्डमा सुरुङ र पेनस्टकमा पानी भरिन एक साताको समय लाग्नेछ।’

अध्यक्ष पाठकले परीक्षणको क्रममा कुनै प्राविधिक समस्या नआएको खण्डमा छिट्टै बत्ती बल्ने बताए। ‘आयोजनाको सबैखालको परीक्षण गरेर कम्तिमा डेढमहिनाभित्रै व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ‘निर्माण सुरुवात गरेको साढे तीन वर्षमै आयोजना निर्माणको काम सकेका छौं।’

यो आयोजनामा ७.६५४ किलोमिटर लामो मुख्य सुरुङ रहेको छ। आयोजनाका अनुसार एक वर्ष अगावै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि कोभिड १९ महामारी, प्रसारण लाइन निर्माणमा ढिलासुस्ती र अत्यावश्यक उपकरण ढुवानीमा भएको ढिलाइका कारणले केही समय बढी लागेको हो।

आयोजनाबाट उत्पादन भएको ८६ मेगावाट बिजुली १२ किलोमिटर लामो १३२ केभीको सोलु कोरिडोर मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। सोलुको लमाने (टिङ्ला) सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

१३२ केभीको सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। प्रसारण लाइनको एउटा मात्रै टावर निर्माण गर्न बाँकी रहेको छ। अध्यक्ष पाठकले प्रसारण लाइनको चार वटा टावरमा तार तान्न बाँकी रहेको बताए।

‘आयोजनाको विद्युत्गृहको परीक्षण र प्रसारण लाइनको निर्माण एकैसाथ सम्पन्न गरेर विद्युत् उत्पादन गर्नेछौं,’ उनले भने।

यो आयोजना सञ्चालन भएसँगै वार्षिक ५२० गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता रहेको छ। यो आयोजनाले वर्षामा ४१९.९३ गिगावाट आवर र हिँउदको समयमा १००.२७ गिगावाट आवर विद्युत् उत्पादन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ। यो नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना हो।

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा विभिन्न संरचना निर्माण गरिएका छन्। आयोजनाबाट वार्षिक औसत ५२०.२० गिगावाट घण्टा (सुक्खा याममा १००.२७ गिगावाट र बर्खा याममा ४१९.९३ गिगावाट आवर) उत्पादन हुनेछ। यो आयोजनाको निर्माण सम्पन्न हुँदासम्म करिब १४ अर्ब रूपैयाँ लागत पुग्ने बताइएको छ। यो आयोजनाप्रति मेगावाट १६ करोड रूपैयाँमा बन्ने प्रारम्भिक अनुमान रहेको छ।

यो जलविद्युत् आयोजनाको ठेक्का इटालियन कम्पनी सिएमसी रि दि भेन्नाले पाएको थियो तर सो कम्पनीको निर्माण कार्य चित्तबुझ्दो नभएसँगै आयोजनाको ठेक्का रद्द गरेर नेपाली निर्माण कम्पनी सीई कन्स्ट्रक्सनले पाएको थियो।

यो जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन्। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, सनसराइज बैक, प्रभु र सिभिल बैंक लगायतले ऋण लगानी गरेका छन्। यो परियोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट निर्माण गरिएको हो। 

प्रकाशित: ५ मंसिर २०७९ ०४:२१ सोमबार

८६ मेगावाटको सोलु–दुधकोशी जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा निर्माणाधीन