अर्थ

‘क्यालिब्रेसन फ्लाईट’ गर्ने जहाज पोखरा आइपुग्यो

दैनिक साढे ५ घण्टा पोखराको हवाई सेवा प्रभावित हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि शनिबार पोखरा आएको एरो थाइको जहाज। तस्बिरः नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) गर्ने जहाज पोखरा आएको छ। शनिबार बिहान नेपालगञ्जबाट यो जहाज पोखरा आएको हो। पोखराको यो विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनिको जहाजबाट यान्त्रीक परीक्षण हुँदैछ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मंसिर ५ गते (२१ नोभेम्बर) बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ्लको क्यालिब्रेसन फ्लाईट हुने बताएको छ। प्राधिकरणले मंसिर ११ (२७ नोभेम्बर)सम्म क्यालिब्रेसन फ्लाईटका लागि उडान तालिका स्वीकृत गरेको छ। त्यही अनुसार पोखराको हाल चल्तीमा रहेको विमानस्थलबाट हुने नियमित उडानका लागि ‘नोटाम’ जारि गरिएको छ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि बेलुकी साढे पाँचबजेसम्म क्यालिब्रेसन फ्लाईटका लागि नोटाम जारि गरिएको छ। ‘क्यालिब्रेसन फ्लाईट’ लागि नोटाम जारि भएको समयमा अरु नियमित उडान हुँदैनन। केहीदिनका लागि पोखराको नियमित हवाई उडान प्रभावित हुनेछ,’ जोशीले भने, ‘नियमित उडान तालिका प्रभावित हुन्छ। क्यालिब्रेसन फ्लाईट बाहेकको समयमा मात्र अन्य जहाजको उडान हुनेछ।’

जोशीका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ। संचार उपकरणको भने अहिले पनि परीक्षण भइरहेको छ। खासगरि इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आइएलएस) को परीक्षण हुनेछ। यो सिस्टम प्रविधिमा आधारित रहेर उडान र अवतरण गर्दाको अवस्थामा प्रयोग हुन्छ। ‘विमानस्थलको कम्युनिकेसन, नेभिगेसन लगायतका सबै प्रविधिको परीक्षण हुने उनले बताए। 

हवाई उडान हुने मुख्य समयमा पोखराको चालु विमानस्थलबाट हुने सबैखालका उडान प्रभावित हुने छन्। अहिले पोखराको चालु विमानस्थल बिहान साढे ६ बजे खुल्छ। तर, हुस्सु लाग्न थालिसकेकोले उडान समेत प्रभावित हुने गरेका छन। विमानस्थल खुल्नासाथ पोखराबाट जोमसोम र काठमाडौंका लागि उडान सुरु हुन्छ। बेलुकी पोखरा विमानस्थलमा बास बसेको जहाजले बिहानै काठमाडौंका लागि उडान भर्छ। त्यस्तै बिहानैमात्र मा उडान हुने जोमसोमका उडान पनि बिहान हुन्छन।  

अहिले पोखरा विमानस्थलबाट दैनिक दुइदर्जन बढी ठूला आकारका जहाजको उडान भइरहेको छ। पोखराबाट काठमाडौंसँगै भरतपुर, भैरहवा, धनगढी, नेपालगञ्ज र जोमसोमसम्मका लागि नियमित उडान भईरहेका छन। बेलैमा विमानस्थल खुलेको खण्डमा क्यालिब्रेसन फ्लाईट अवधिमा बिहान १० बजे अघि र दिउँसो १ देखि साढे २ बजेसम्म (डेढघण्टा) मात्र उडान हुनेछ। 

पोखराको चालु विमानस्थलबाट बेलुकी ढिलोमा साढे पाँचबजेसम्म मात्र उडान हुन्छ। ‘हुस्सु लागेन भने त बिहानै धेरै उडान हुनेछन। तर, हुस्सु लाग्न थालेको र यहीबेला क्यालिब्रेसन फ्लाइट हुने भएकोले नियमित उडान प्रभावित हुनेछन्,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले भने। पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने प्राधिकरणको तयारी छ। 

प्रकाशित: ३ मंसिर २०७९ ०८:१८ शनिबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाईट’ एरो थाई कम्पनि