प्रवास

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

फाइल तस्बिर

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको मृत्यु भएको छ। छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-१, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो।

सिन्धौलीको बिहीबार पेगोइसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले बताए। सँगै सुतेका साथीले बिहान काममा जान उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पुग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए। मृतक सिन्धौली पेगोइसस्थित एक कृषि कम्पनीमा काम गर्थे।

सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन्। उनको शव बराइरो अस्पतालको शवगृहमा राखिएको छ। परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक संकलन सुरु गरिएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जनाए।

प्रकाशित: २३ आश्विन २०७९ ०८:०८ आइतबार

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका