प्रवास

जापानको नागोया शहरमा दुई दिने नेपाल फेस्टिबल सुरू (तस्बिरसहित)

जापानको नागोया शहरमा दुई दिने नेपाल फेस्टिबल सुरू भएको छ।

जापानमा नेपाल चिनाउने प्रमुख उद्देश्यले आयोजना गरिएको दोश्रो नेपाल फेस्टिबल नागोयाको पूर्व रक्षा तथा सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरे।

समारोहमा नागोया शहरका मेयर खावामुरा ताकासीको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री मिनेन्द्र रिजालले जापानमा नेपालीहरूको बाक्लो बसोबास रहेको भन्दै यहाँ सिकेको ज्ञान र आर्जेको पूँजी नेपालको बिकासमा प्रयोग गर्न आग्रह गरे। 

बिशेष अतिथि नागोया शहरका मेयर कावामुरा ताकासीले नेपालसँग सहकार्य गर्न आफु तयार रहेको बताए।

महामारीका कारण ३ वर्ष देखी रोकिएको नेपाल फेस्टिबल नागोयामा आयोजना हुँदै गर्दा जापानी तथा नेपाली दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। 

यद्यपि जापानमा अझै पनि कोरोना संक्रमणको संख्या भने उच्च दरमा बढिरहेको छ।फेस्टिबलमा नेपाली कला,संस्कृति,भेषभुषा, झाँकी प्रस्तुत गर्दै नेपाल(जापान सम्बन्ध थप प्रगाढ हुने खालका कार्यक्रम प्रस्तुत गरिएको छ।

मुख्य आकर्षणको रुपमा नेपालको मौलिकता झल्किने घर, पञ्चेबाजा,लाखे नाच, जापानी कलाकारका बिबिध सांस्कृतिक प्रस्तुतिहरु रहेका थिए।

जापानमा नेपालको प्रचार प्रसार गर्नु एक मात्र उद्देश्य फेस्टिबलको रहेको एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीले नागरिक न्युजलाई बताए।

फेस्टिबलमा सहभागी जापानी नागरिक ताकाहासी नारुमीले सगरमाथा नेपालमा पर्ने कुरा आजै मात्र थाहा भएको नागरिक न्युजलाई प्रतिक्रिया दिईन्।

फेस्टिबलमा नेपाल बाट जापान आएका राष्ट्रिय कलाकारहरू राजु लामा,लोक दोहोरि गायक बद्री पंगेनि र लोक गायिका सम्झना भण्डारीको प्रस्तुतिमा सहभागीहरुले भरपुर मनोरन्जन प्राप्त गरे।

फेस्टिबललाई एनआरएनए जापान नागोया क्षेत्रिय समिती र जापानस्थित नेपाली दुतावासले संयुक्त रूपमा आयोजना गरेको हो । फेस्टिबल ४ तारिख आईतबार सम्म चल्नेछ।

 

 

प्रकाशित: १९ भाद्र २०७९ ०२:४८ आइतबार

जापानको नागोया शहरमा दुई दिने नेपाल फेस्टिबल जापानको नागोया शहर