प्रवास

जापानको टोकियोमा आजदेखि नेपाल फेस्टिवल सुरु

जापानको राजधानी टोकियोमा आजदेखि दुई दिने नेपाल फेस्टिवल सुरु भएको छ। जापानमा नेपाल चिनाउने प्रमुख उद्देश्यले आयोजना गरिएको १२औं नेपाल फेस्टिवलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शनिबार उद्घाटन गरेका हुन्।

कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिएको नेपाल फेस्टिवल टोकियाेमा आयोजना हुँदै गर्दा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। यद्यपि जापानमा कोरोना संक्रमणको संख्या दिन दुई गुणा रात चौगुणा को दरले बढिरहेको छ।

फेस्टिवलमा नेपाली कला, संस्कृति, भेषभुषा, झाँक्री प्रस्तुत गर्दै नेपाल-जापान सम्बन्ध थप प्रगाढ हुने खालका कार्यक्रम प्रस्तुत गरिएको छ। मुख्य आकर्षणको रुपमा नेपालको मौलिकता झल्किने घर, पञ्चेबाजा, मौलिक लोक भजन, जापानी कलाकारका विविध सांस्कृतिक प्रस्तुतिहरु रहेका थिए।

जापानमा नेपालको प्रचार प्रसार गर्नु एक मात्र उद्देश्य फेस्टिबलको रहेको एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले बताए। फेस्टिवललाई एनआरएनए जापान र जापानस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेका हुन्। फेस्टिवल भोली ३१ तारिख पनि चल्नेछ।

प्रकाशित: १४ श्रावण २०७९ १५:१६ शनिबार

जापानको राजधानी टोकियो १२औं नेपाल फेस्टिवल