प्रवास

बेलायतमा नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालका लागि प्रेरणाको श्रोत बन्न सक्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको श्रोत बन्न सक्ने बताएका छन्। मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेको १०औं स्थापना दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उक्त कुरा बताएका हुन्।

उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिहरुलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारहरुले खेलेको भूमिकाको प्रति प्रशंसा गरेका छन्। साथै शुभकामना सन्देशमा विदेशमा व्यस्त समयको समेत प्रवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्व समुदाय समक्ष जीवन्त राख्ने योगदान सकरात्मक भएको उल्लेख छ।

कार्कीले नेपाली संचारमाध्यमले खेलेको भूमिकाबाट नेपाल–बेलायत सम्बन्धमा समेत अझ सुदृढ र बलियो भएको बताउँदै गैरआवासीय नेपालीहरुका गतिविधि, भूतपूर्व गोर्खाहरुको आन्दोलन र नेपाल–बेलायत सम्बन्धका गतिविधिहरुलाई समेटेर आमजनसमुदायलाई सुसूचित गर्न थप उत्साह मिल्ने बताए।

नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १०औं वार्षिकोत्सव आइतबार लण्डनमा आयोजना गर्दैछ। उक्त समारोहमा बेलायतस्थित विभिन्न सामाजिक संघ-संस्थाहरुका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ। सोही अवसर शाखाका संस्थापकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।

प्रकाशित: २२ असार २०७९ ०३:५१ बुधबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाल पत्रकार महासंघ यूके