प्रवास

एनआरएनए फुटसल रनिङ कपको उपाधि नेपाली युनाईटेडको पोल्टामा

एनआरएनए जापानको आयोजनामा प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ सम्पन्न भएको छ।आईतबार जापानको राजधानी टोक्योको हाचीओजी शहरस्थित फुजीमोरि फुटसल पार्कमा भएको प्रतियोगिताको उपाधि नेपाली युनाईटेडले हात पारेको छ। नेपालको पूर्व राष्ट्रिय खेलाडी समेत रहेका बिसन गौचनको टिम नेपाली युनाईटेडले एनआरएनए फुटसल रनिङ कपको बाजी मार्न सफल भएको हो।

जापानभरि बाट ३५ टिमको सहभागिता रहेको प्रतियोगीतामा नेपाली युनाईटेड र काभ्रेली समाज व्हाईट फाईनल खेलमा बराबरीमा रोकिएपछी पेनाल्टी सुटआउटमा नेपाली युनाईटेडले २ का विरुद्ध ३ गोलले काभ्रेली व्हाईटलाई पराजित गरेको थियो।नेपाली युनाईटेडले प्रथम भई पाँच लाख येनसहित कप र रनिङ सिल्ड हात पार्यो।

त्यसैगरी दोस्रो हुने काभ्रेली व्हाईट टिमले दुई लाख पचास हजार र कप, तेस्रो हुने काभ्रेली समाज ओरेन्जले ७० हजार र कप पुरस्कार हात पार्न सफल भए। साथै अन्य विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरुलाई शिल्ड र सम्मान पत्र पनि वितरण गरिएको थियो। जापान भरिका खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा ३५ टिमसहित ४ सय नेपाली खेलाडी सहभागि भएका थिए। कार्यक्रममा एनआरएनए आईसीसी उपमहासचिव ओम गुरुङ,एनआरएनए एशिया डिआरसी ददिवल खड्का, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली लगायतले पुरस्कार वितरण गरे।

खेलको माध्यमबाट जापानका नेपालीहरू बीच भाईचारा र एकता को सन्देश दिन कार्यक्रम आयोजना गरिएको एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले बताए।

प्रकाशित: १६ जेष्ठ २०७९ १३:४२ सोमबार