प्रवास

जापानको राजधानी टोकियोमा नेपाल फेस्टिभल आयोजना हुने

जापानको राजधानी टोकियोमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ। टोकियोको नाकानो पार्कमा आगामी जुलाई ३० र ३१ तारिखका दिन नेपाल फेस्टिभल आयोजना हुने भएको हो। 

जापानमा नेपाली कला संस्कृति,नेपाली परिकार र नेपाली मौलिक पहिचानलाई जापानीमाझ परिचित गराउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ फेस्टिभल आयोजना गर्न लागिएको एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलले जानकारी दिए।

टोक्योस्थित नेपाली राजदूतावास र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिभलमा धेरै भन्दा धेरै जापानी नागरिकहरूको सहभागिता बढाउन आयोजकले यहाँको स्थानीय सरकार सँग सहकार्य गर्ने भएको छ।

नाकानो सिटीका मेयर नाओतो साकाइ तथा नाकानो पर्यटन बोर्डका पदाधिकारीसँग भेट गरि सहकार्यको लागि अनुरोध गरि सकिएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नबिन निउरेले जानकारी दिए।

'फेस्टिभललाई अहिलेसम्मकै भव्य र सफल बनाउन हाम्रो टिम लागिपरेको छ', नागरिकन्युजसँग कुरा गर्दै निउरेले भने, 'यो १२ औँ नेपाल फेस्टिवलले नेपाल जापान सम्बन्धलाई जनस्तरमै थप प्रगाढ बनाउने अपेक्षा राखेका छौं।' करिब एक लाखको संख्यामा नेपालीहरूको बसोबास रहेको जापान नेपालको ठूलो दातृराष्ट्र हो।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:०५ बुधबार