प्रवास

अष्ट्रेलियामा २०८औं भानु जयन्ती कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्विन्सल्याण्ड च्याप्टरको आयोजना र नेपलिज असोसिअसन अफ क्विन्सल्याण्ड , गैर आवासीय नेपाली संघ ,अष्ट्रेलिया, क्विन्सल्याण्ड राज्य समिति, र क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको संयुक्त सहभागितामा १७ जुलाई शनिवारका दिन ब्रिसबेनमा २०८औं भानु जयन्ती तथा नेपाली भाषा एवम् संस्कृति दिवसको कार्यक्रम सम्पन्न भएको छ।

 ब्रिसबेनको मिचल्टन स्थित सामुदायिक सभा भवनमा स्थानीय भाषा, साहित्य र संस्कृतिप्रेमी महानुभावहरुको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण र रामायणका श्लोकहरुको वाचनबाट गरेका थिए। कार्यक्रममा अतिथि कवि प्रभा भट्टराई नेपालबाट जुम मार्फत जोडिएर सभालाई सम्बोधन गर्दै नेपाली भाषा साहित्यमा आदिकविको योगदानको चर्चा गरेकी थिइन्।साथमा उनले आफ्ना केहि कविताहरु वाचन गरेकी थिइन्। 

उक्त अवसरमा भानु जयन्ती विशेष साहित्यिक गोष्ठीको साथमा नेपाली संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। रचना वाचनको क्रममा स्थानीय कविहरु सफल घिमिरे, बिनोद भक्त आचार्य, बुना दाहाल, देवीलाल श्रेष्ठ, गिरिराज खनाल, कृष्ण समर्पण, ईशा शर्मा कोइराला, मदन चापागाईं, गोविन्द बराल, केशव शर्मा, राजेश्वरी रेग्मी आचार्य र हरिराज अधिकारीले आफ्ना रचनाहरु वाचन गरेका थिए। 

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्यहरुलाई अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्माले प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमको अन्तिम चरणमा स्थानीय नेपाली पाठशालाका स-साना विद्यार्थीहरु लगायत अरु कलाकारहरुद्वारा आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन मनुजा कंडेलले गरेका थिए। 

प्रकाशित: ५ श्रावण २०७८ ०६:१६ मंगलबार

भानु जयन्ती कार्यक्रम सम्पन्न