प्रवास

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउँदै नेपाली युवकको कपाल मुण्डन गर्ने ४ भारतीय पक्राउ

नेपाली युवकको कपाल मुण्डन गरिँदै । तस्बिर : बिबिसी हिन्दी

भारतको वाराणसीमा नेपाली युवकको कपाल मुण्डन गरेर टाउकामा ‘जय श्रीराम’ लेखेको आरोपमा भारतीय प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  

यस घटनामा वाराणसीको भेलुपुर प्रहरी कार्यालयमा पाँच जनाविरुद्ध उजुरी (एफआइआर) दर्ता भएका छ ।  

वाराणसीका वरिष्ठ प्रहरी अधिक्षक अमित पाठकले यस मामिलामा प्रहरीले तुरुन्त कारबाही थालेको बीबीसीसँग बताएका छन् ।  

पाठकले भने, ‘सामाजिक सञ्जालबाट घटना जानकारी पायौं । त्यसपछि हामीले तुरुन्त सम्बन्धित धाराबमोजिम एफआइआर दर्ता गरायौं । चार जनालाई गिरफ्तार गरेका छौं, जो भिडियो (नेपालीको कपाल मुण्डन) बनाउने व्यक्ति हुन् । प्राप्त जानकारीअनुसार अरुण पाठक नाम गरेका व्यक्तिले त्यस्तो भिडियो बनाए र सामाजिक सञ्जालमा हाले । उसलाई पनि चाँडै पक्राउ गरिनेछ ।’  

घटना के हो ?  

वाराणसीमा बस्ने नेपाली नागरिकलाई केही व्यक्तिले बुधबार गंगा नदीको किनारमा जबर्जस्ती कपाल मुण्डन गरिदिए । त्यति मात्र होइन, ती नेपाली युवकको टाउकामा नेपाली प्रधानमन्त्री ‘मुर्दावाद’ जस्ता नारा पनि लगाए । साथै उनीहरूले त्यसको भिडियो बनाए ।  

त्यसपछि हिन्दू सेना नामको एक संगठनले त्यो भिडियो सामाजिक सञ्जालमा राख्यो । र, नेपालका प्रधानमन्त्रीले अयोध्या नेपालमा छ भनेर दिएको अभिव्यक्तिविरुद्ध चेतावनी पनि दियो । साथै बनारसमा बस्ने नेपालीलाई पनि नेपालका प्रधानमन्त्रीले बारम्बार यस्ता अभव्यक्ति दिएका खण्डमा परिणाम राम्रो नहुने चेतावनी पनि उनीहरूले दिएका छन् ।  

यही घटनामा सन्तोष पाण्डेय, अमित दुबे, आशिष मिश्रा र राजु यादवलाई पक्राउ गरिएको एसएसपी अमित पाठकले जानकारी दिएका छन् । उनीहरूविरुद्ध भेलुपुर प्रहरी चौकीमा आइपिसीको धारा ५०५ (२) र २९५ तथा आइटी एक्टअनुसार मुद्दा हालिएको छ । तर मुख्य अभियुक्त अरुण पाठक भने अहिलेसम्म फरार छन् ।  बिबिसी हिन्दीबाट

प्रकाशित: ३ श्रावण २०७७ ०९:४६ शनिबार

कपाल मुण्डन नेपाली युवक