प्रवास

लण्डनमा सम्झिए गायक खेमराज गुरुङ

लण्डन - वारी जमुना पारी जमुना गीतबाट चर्चित स्वर्गिय गायक खेमराज गुरुङको संझनामा वेलायतमा एक कार्यक्रम सम्पन्न भएको छ। खेमराज गुरुङ ट्रष्टको आयोजनामा आइतवार लण्डनस्थित फेलथाममा  'खेमराज गुरुङ स्मृति साँझ ' सम्पन्न भएको हो। स्मृति साँझका लागि लण्डन आईपुगेका नेपालका चर्चित गायक राजेश पायल राईले स्वर्गिय गायक गुरुङको संझनामा बिभिन्न लोकगीतहरु प्रस्तुत गरेका थिए।

राईले उनका चिरपरीचित गीतहरु तिम्लाई पाए संसारको, दर्शन नमस्ते, म त र्मछु की क्या हो ठूली, बल्ल भेट भयो, दिक्तेल बजार, किन यति धेरै माया लाग्छ, फैलियो माया लगायत आफ्ना नयाँ एल्बमका गीतहरु दर्शक समक्ष प्रस्तुती दिए।

कार्यक्रममा स्थानीय गायक सुजन पराजुलीले गायक गुरुङले गाएका वारी जमुना पारी जमुना, धेरै पछि पूर्व घुम्न आएको लगायतका गीत प्रस्तुत गरेका थिए। ५ सय भन्दा बढी दर्शकले खचाखच भरिएको कार्यक्रममा हलमा दिव्यानी शर्माले माथिमाथि शैलुंगेमा गीत प्रस्तुत गरिन्।  

चन्चला गुरुङको  संयोजकत्वमा आयोजित कार्यक्रमबाट उठेको रकम खेमराज गुरुङ ट्रष्ट मार्फत खर्च गरिने आयोजकले जनाएको छ। गायक खेमराज गुरुङको ४३ वर्षको उमेर सन् २०१६ मा काठमाण्डौंस्थित मेडिकेयर हस्पिटलमा निधन भएको थियो।

 

प्रकाशित: २३ भाद्र २०७६ ०९:०६ सोमबार

खेमराज_गुरुङ सम्झना गायन