प्रवास

एनआरएन रूसको नयाँ कार्यसमिति

नयाँ कार्यसमितिका सदस्यहरुको सामूहिक तस्बिर।

मास्को – रूसको राजधानी मास्कोमा आयोजित गैरआवासीय नेपाली संघ रूसको नवौं राष्ट्रिय अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै दश हजार डलरको अक्षयकोषको घोषणा गरेको छ।

कार्यक्रममा उपस्थित एनआरएनए रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रामेश्वर गौतम तथा रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले नयाँ कार्यसमितिलाई बधाई दिए। त्यस्तै, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वयपरिषद्का कार्यवाहक महासचिव इन्द्रप्रसाद भुषालले एनआरएन गतिविधिबारे समीक्षा गरेका थिए। साथै, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी उपाध्यक्ष सपिला राजभण्डारी, महासचिवडा. बद्री केसी, युरोप उपसंयोजक तथा भाषा एवं साहित्य समितिका संयोजक गोविन्दप्रसाद गौतम, केन्द्रिय सदस्य डा. एकनारायण चापागाईंले गैरआवासीय नेपाली संघको तर्फबाट सम्पन्न क्रियाकलापको विस्तृत चर्चा गरेका थिए।

अधिवेशनमा महासचिव इन्द्रप्रसाद भुषाल र कोषाध्यक्ष गोविन्द आचार्यबाट प्रस्तुत प्रतिवेदन छलफलपछि अनुमोदन गरिएको थियो। गैरआवासीय नेपालीसंघ रूस राष्ट्रिय समन्वय परिषद्का नवनिर्वाचित अध्यक्ष शिवमणि भुर्त्यालले आफूलाई निर्विरोध निर्वाचित गरिएकोमा सबैलाई धन्यवाद दिए।

उनले अध्यक्षको पदभार वहन गर्दै तत्कालै भइपरी आउँदा व्ययभारका लागि १० हजार डलरको अक्षय कोष स्थापना गर्ने घोषणा पनि गरे। उनले रूसका विभिन्न शैक्षिक संस्थानहरूमा अध्ययनरत नेपाली छात्रछात्राहरूमध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने पनि घोषणा गरे।

प्रकाशित: १८ भाद्र २०७६ ०३:०८ बुधबार

गैरआवासीय_नेपाली_संघ नयाँ_कार्यसमित एनआरएन