प्रवास

बेलायतमा १७ औं गोर्खा कपको तयारी

लण्डन - आगामी आइतवार हुने गोर्खा कपको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। आयोजक तमुधिं युकेले आइतवार तमु भवन मिचेडमा आइतवार पत्रकार सम्मेलन गर्दै १७ औं गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।

पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक पिताम्वर गुरुङले मुख्य ३२ र मेट्रान तर्फ १० गरि जम्मा ४२ टोलीले खेलमा सहभागिता जनाउने जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रतियोगितामा बेलायत बाहिरबाट समेत ५ टिम सहभागी हुन आउने जानकारी दिइयो। हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हंककंगबाट सहभागिता हुने तमुधिंले जनाएको छ।

पत्रकार सम्मेलनमा तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खाकपको सफलतासंग बेलायतको सिंगो नेपाली समुदायकै प्रतिष्ठा र हित जोडिएको भन्दै सहभागिता तथा सहयोगको लागि अपील गरे।

प्रतियोगिताको मुख्य तथा भेट्रान दुवै विधामा पहिलो हुने टिमलाई नगद २५ सय तथा दोस्रो हुने टिमलाई नगद १५ सय पाउण्डसहित ट्रफी र सर्टिफिकेट प्रदान गरिनेछ। दुवै विधामा उच्च गोल स्कोरकर्ता र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ।

स्थानीय मेयर , नेपाली दूतावास, ब्रिगेट अफ गोर्खा, एफए, लगायतका संघसस्था गरिरी २ सय जना अतिथिलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।

 अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको सुरक्षा व्यवस्थाको लागि स्थानीय प्रहरीसंग छलफल भएको वताउँदै गुरुङले सो दिन दुई दर्जन भन्दा प्रहरी टोली सुरक्षाको लागि खटाइने जानकारी दिए।

खेल शुरु हुनु अघि नेपाली सांस्कृति कार्यक्रम तथा गोर्खा व्याण्डले खुकुरी डान्सको प्रस्तुति दिने भएको छ। सो दिन नेपाली खाना, स्टल, नेपाली भेषभुषाको प्रमुख आर्कषण पनि रहने बताइएको छ।

खेलका क्रममा एनआरएन युकेले स्वास्थ्य सेवा प्रदान गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो।

तमुधीं युकेका मिडिया संयोजक रोहित गुरुङले संचालन गरेको कार्यक्रममा तमुधीं युकेका पूर्वअध्यक्षहरु, संस्थाका आजिवन सदस्य लगायत पत्रकारहरुको बाक्लो उपस्थिति थियो। अल्डरशटमा आयोजना हुने खेलबाट संकलित रकम स्थानीय च्यारीटीलाई प्रदान गरिने आयोजनले जनाएको छ।

 

प्रकाशित: ६ जेष्ठ २०७६ ०७:२९ सोमबार

गोर्खा गोरखा_कप लन्डन