प्रवास

नेपाल भ्रमण वर्ष सफल पार्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने एनआरएनएको निर्णय

लण्डन– गैर आवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठक अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केन्द्रीय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न बैठकले विभिन्न ९ वटा निर्णय गरेको ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले सामुहिक लगानी फण्डमार्फत नेपालको जलविद्युतलगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता गरिएको छ। यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने,  महिला शशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्ययोजना ल्याउने,  विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको विकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय बैठकले गरेको छ।

यसैगरी नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न अस्सीमेड फाउन्डेसन अष्ट्रेलिया र नेपाल साइन्स फाउन्डेसनबीच सहकार्य गर्नेगरी समझदारी पनि भएको छ। यस्तै ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित विशेष कार्यक्रम सञ्चालन गर्दै नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने  कार्यक्रमहरु तय गर्ने निर्णय पनि बैठकले गरेको अधिकारीले जानकारी दिए।

बैठकले एनआरएन नेपाली नागरीकता वितरण गर्न र  नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण ब्यबस्था ऐनमै गर्न सरकारलाई अनुरोध गरेको छ।  बैठकले अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको स्वागत गरेको गर्दै कार्यक्रम सफल बनाउन सहयोगी भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ। 

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सम्मेलनमा प्रदेश सांसद बिष्णु पन्थी, अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, संघका अध्यक्ष भबन भट्ट, निबर्तमान अध्यक्ष डा। शेष घले संघका पधादिकारी तथा मानार्थ समिति सदस्यहरु सहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष कुमार पन्तले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०७६ ०५:१६ आइतबार

एनआरएन भानुभक्त_ढकाल धर्मराज_अधिकारी