प्रवास

निषेधको राजनीतिले देश बन्दैनः  पूर्वमन्त्री शर्मा

लण्डन – पूर्वमन्त्री तथा राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले देश विकासका लागि सबै राजनीतिक दल एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

उनले गैरआवासीय नेपाली (एनआरएन) र  देशका राजनैतिक दलहरु गरिबीविरुद्ध तथा समृद्धिको लागि एक भएर लड्नु पर्नेमा पनि जोड दिए। 

 मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएन) युकेद्वारा अल्डरशटमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले  अब निषेधको राजनीतिले देश नचल्ने  भन्दै राष्ट्रिय सहमतिमा जोड दिए। 

उनले एनआरएन राजनीतिभन्दा माथि रहेको बताउँदै भने, ‘एनआरएनले नेपाली माटोको झण्डा बोक्छ देशको झण्डा बोकेर अगाडी बढ्नु पर्छ।’

उनले गैरआवासीय नेपालीहरुका जायज मागहरुबारे सम्बन्धित निकायलाई आफूले जानकारी गराउने पनि बताए ।  गैरआवासीय नेपाली नागरिकता लगायतका मुद्दामा कानुन र संविधानको परिधिमा रहेर सम्वोधन गरिने उनको भनाई थियो। 

 विश्वभर छरिएका नेपालीहरुले आफ्नो पहिचानमा नछोड्न नहुनेमा भन्दै शर्माले  भाषा, संस्कृति र धर्मको पहिचान कायम राख्नु पर्नेमा जोड दिए। 

शर्माले गैरआवासीय नेपालीहरुको भोटिङ राइटको अधिकारको रक्षा गर्नु पर्नेमा जोड दिए ।  

गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्न  लगानीकर्ताको पुँजी र मुनाफाको सुरक्षा गर्न कानुनमा संशोधन गरेर जान सकिने शर्माले  तर्क गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनका उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता लिँदा नेपाली भाषा अनिवार्य गर्न नहुने बताए। उनले भाषाको विषयलाई जटिल बनाउँदा विदेशमा बस्ने नेपालीहरुको भावनालाई नेपालसँग नजोडिएको हो कि भन्ने सन्देश जानसक्ने तर्फ सचेत गराए। 

अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा भएको  कार्यक्रममा एनआरएन केन्द्रीय सदस्य रामशरण सिम्खडा, सुष्मा राई, महिला उपसंयोजक संगिता मरहठ्टा, एनआरएन युकेका पूर्वअध्यक्ष योगन क्षेत्री, नेपाली कांग्रेसका नेता रवि राई लगायतले आ–आफ्नो विचार राखेका थिए। 

शर्मा लण्डनस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना भएको एक कार्यक्रममा सहभागि बेलायत आएका हुन्।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०५:१७ बुधबार

राजनीति विकास निषेध