प्रवास

मलेसियामा नेपालीको भेटघाटको थलो ‘घन्टाघर’

मलेसियाको राजधानी क्वालालम्पुरस्थित मेदान पासारमा भेटिएका नेपाली। नेपालीको भेटघाट थलो र प्रमुख गन्तव्य भएका कारण यो ठाउँको नाम नेपालीले नै घन्टाघर राखिदिएका छन्।

क्वालालम्पुर (मलेसिया) - अर्घाखाँचीका मित्रबहादुर क्षेत्री र दोलखाका रमेश बस्नेत अघिल्लो साता क्वालालम्पुर सहरको कोताराया नजिक मेदान पासारको घन्टाघरमा भेटिए। त्यसको तीन दिनअघि भेट्ने योजना बुनेका उनीहरूले भेटघाटका लागि यही ठाउँ रोजेका थिए। ‘नेपालीबीच जमघट हुनुप-यो भने हामी यहीं जुट्छौं’, दोलखाका बस्नेतले भने, ‘परदेशको बसाइ, दुःखसुख साट्छौं, गफगाफ अथवा काम जे छ सक्छौं अनि छुटिन्छौं’। बस्नेत र क्षेत्रीजस्तै यो सहरमा इष्टमित्र र साथीभाइ भेट्दा नेपाली यही ठाउँलाई रोज्छन्।

उदयपुरको त्रियुगा १३ होक्सेका नृप थापा पनि अघिल्लो आइतबार घन्टाघरमै भेटिए। ‘नेपाल फर्किन लागेको साथीलाई सामान पठाउनु थियो’, थापाले भने, ‘त्यसैले दुई घन्टा गाडीको यात्रा गरेर उसलाई भेट्न यहाँ आइपुगेको हुँ’। थापालाई यो घन्टाघर आइपुग्दा काठमाडांैको रत्नपार्क पुगेको अनुभूति हुन्छ। ‘यहाँबाट सबैतिर गाडी लाग्छ, नेपाली प्रायः यहीं भेटिन्छन्’, उनले भने, ‘त्यसबाहेक आफ्नै घरको स्वादमा मिठोमसिनो खान मन लाग्यो भने नेपाली रेस्टुरेन्ट यतै छन्।’

मेदान पासार क्वालालम्पुर सहरको मुटुमा छ। बीचमा ठूलो घडी छ। वरपर राम्रा पार्क र बगंैचा छन्। पार्क वरिपरिका घरमा प्रायः नेपाली पसल, रेस्टुरेन्ट र पैसा पठाउने रेमिट छन्। नेपालीले नै यो ठाउँलाई घन्टाघरको नाम दिएका छन्।

यो ठाउँलाई नेपालीले भेटघाट थलो बनाउने प्रमुख कारण हो घरमा पैसा पठाउने रेमिट। व्यवसायी चन्द्र ढकालले २००२ मा मलेसियाबाट नेपाल रकम पठाउन आइएमइ सुरु गर्दा यही मेदान पासारको घन्टाघरअगाडिको घरबाट थालेका थिए। ग्लोबल आइएमइ बैंक र चन्द्रागिरी केबुलकारसहित विभिन्न क्षेत्रमा हात हालेका ढकालले अहिले आइएमइको स्वामित्व छाडिसकेका छन्। अहिले अर्कै कम्पनीले चलाएको आइएमइ, प्रभु रेमिटसहित नेपाल पैसा पठाउन सकिने अरू थुप्रै रेमिट यही वरपर खुलेका छन्। रेमिटबाहेक यहाँ वरपर तीन दर्जन बढी नेपाली रेस्टुरेन्ट खुलेका छन्। नेपाली कामदारलाई लक्षित गरी थुप्रै पसल सञ्चालनमा छन्।

मेदान पासार मलेसियाको ऐतिहासिक ठाउँ पनि हो। यो ठाउँमा परम्परागत स्थानीय हाट लाग्थ्यो। क्वालालम्पुर सहरको पुरानो व्यापारिक क्षेत्र यही थियो। मलेसियाका ठूला बैंक, जुवाघर मेदान पासारमै थिए। पछि व्यापारिक महलहरू ठडिए। नेपालीले नामकरण गरेको घन्टाघरको घडी मलेसियाका राजा गोर्गे छैटौंले आफ्नो राज्याभिषेकका अवसरमा सन् १९३७ मा बनाएका थिए। अहिले यो ठाउँको नाम घन्टाघरकै रुपमा हरेक नेपालीको मुखमा झुन्डिएको छ। ‘नेपाली समस्यामा पर्दा वा आफन्त, साथीभाइ भेट्नुपर्दा यही ठाउँमा आउँछन्’, घन्टाघर नजिक नेपाली रेस्टुरेन्ट चलाएर बसेका काभ्रेका पासाङ तामाङले भने,‘सबैको भेटघाट थलो यही हो’।

प्रकाशित: ११ फाल्गुन २०७५ ०६:१९ शनिबार

मलेसिया भेटघाट घन्टाघर