प्रवास

मध्यपूर्व संयोजकलाई तत्काल रिहा गर्न एनआरएनएको माग

काठमाडौ–कतार प्रहरीको गिरफ्तारीमा रहेका गैरआवासीय नेपाली संघ(एनआरएनए)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्मालाई तत्काल रिहा गर्न एनआरएनएले माग गरेको छ।

गत अक्टोबर १८मा गिरफ्तार गरिएका शर्माबारे त्यहाँको सरकारी निकायले आधिकारिक जानकारीसमेत नगराएको भन्दै संघले कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायतका निकायलाईसमेत रिहाइको पहल गर्न माग गरेको छ। 

गिरफ्तार गरेको तेस्रो दिनमात्र परिवारसँग छोटो संबाद गर्न दिए पनि त्यसपछिको अवस्था र गिरफ्तारीको कारणबारे कुनै जानकारी नगराइएको संघले विज्ञप्तीमार्पmत जनाएको छ।  गत अक्टोवर ५मा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतारले आयोजना गरेकोे एक साँस्कृतिक कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रहेको र सोही कारण उनलाई गिरफ्तार गरिएको अनुमान परिवारले गरेका छन्। 

शर्मासहित उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु रामबाबु बोहरा, रितकुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले त्यस कार्यक्रम पछि नियन्त्रणमा लिएको संघले जनाएको छ । शर्मालाई नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यस किसिमको कार्यक्रम किन रोक्ने प्रयास नगरेको भन्दै त्यहाँको सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ। संघले शर्मासहित हिरासतमा रहेका अन्य नेपालीहरुको शिघ्र रिहाइका लागि अपील गरेको छ। 

 

प्रकाशित: २६ कार्तिक २०७५ ०९:४३ सोमबार

गैरआवासीय_नेपाली_संघ मध्यपूर्व_संयोजक गिरफ्तारी रिहा