प्रवास

सिकागोमा नेपाली नेशनल कन्भेन्सन

अमेरिका- 'नेपाली समुदायको लागि एकता', भन्ने नाराका साथ नेपाली नेशनल कन्भेन्सन सिकागोमा सुरू भएको छ। अमेरिकामा रहेका नेपालीहरुको पुराना तीनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको सो कन्भेन्सनको पहिलो दिन शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, कांग्रेस नेता विश्वप्रकाश शर्मा, नेपाली महाबाणिज्यदुतहरु प्रेमराजा महत, ऋषि ढकाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनले नेपाल फोरममा कार्यपत्र प्रस्तुत गरे। नेपालको विज्ञान प्रविधिको विकासको लागी अत्यावश्यक मानिएको आविस्कार केन्द्रको बारेमा छलफल गरेर सहयोग गर्न चाहानेले सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यक्रममा लागानी फोरम, नेपालको पर्यटन प्रवर्धन सम्बन्धी सेमिनार, रोजगारी फोरम, र स्थानीय संस्थाहरुसंग सहभागीता जस्ता महत्वपूर्ण सत्रहरु राखिएको छ।

कार्यक्रममा नेपाली पपुलर फिल्म अवार्ड आइतबार साँझ सम्पन्न हुने सम्मेलनका प्रमुख संयोजक एवं अन्मा अध्यक्ष बाला घिमिरेका अनुसार सम्मेलनमा अमेरिकाभरीका विभिन्न संघ संस्थाका प्रतिनीधि, बुद्धिजिवी, उद्यमी र सामाजीक अभियन्ताहरुको उपस्थिती रहेको छ।

 

 

प्रकाशित: १७ भाद्र २०७५ ०४:३५ आइतबार

नेपाली कन्भेन्सन