प्रवास

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

टोकियो - जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ।

शनिवार राति तोचिगी प्रिफेक्चरको उचुनोमिया स्टेशन नजिक टहलीरहेको अवस्थामा काभ्रेका विवेक गौतम र उनका साथी झापा निवासी अजय मेक्षेमाथि छुरा प्रहार भएको हो। रातको करिव पौने १ बजेतिर ३-४ जनाको समूहमा आएका भियतनामी युवाहरु मध्यका एक जनाले अन्धाधुन्ध छुरा प्रहार गरेका थिए। छुरा प्रहार गर्नेसंगै आएका अन्य भियतनामीहरुले रोक्न खोज्दाखोज्दै र नेपाली युवाहरुले ज्यान जोगाउन भाग्न खोज्दाखोज्दै छुरा प्रहार भई चोट लाग्न पुगेको पीडितहरुलाई उद्धृत गर्दै उनीहरु अध्ययनरत भाषा विद्यालयमा एशियन डेस्क विभाग प्रमुख भुबन हुमागाँईले नागरिकलाई बताए।

छुरा प्रहार गर्ने भियतनामी युवा मादक पदार्थ सेवन गरी अनियन्त्रित अवस्थामा रहेको बताईएको छ। विश्वकै शान्त मुलुक मानिने जापानमा घटेको यो घटनाले आफु निकै अचम्मित बनेको हुमागाईले बताए। जापानमा यस्ता घटनालाई दुर्लभ मानिन्छ। घाईतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको र दुबैजना खतरामुक्त रहेको बताईएको छ। दोषीको खोजी जारीरहेको समाचार छ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०८:१३ सोमबार

#अपराध #छुरा_प्रहार #जापान #नेपाली_विद्यार्थी #प्रवास