प्रवास

टीपीएस नविकरण नहुँदा अमेरिकामा ९ हजार नेपाली प्रभावित हुने

काठमाडौं- अमेरिकाले नेपालीहरुको लागि दिएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नविकरण नगर्ने तयारीमा देखिएको छ। जसको कारण अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने भएका छन्। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा २०१९ जुन २४ मा समाप्त हुँदैछ।

ट्रम्प प्रशासन टिपिएस नविकरणमा अनुदार देखिँदै आएको छ भने कतिपय राज्य पनि यस प्रति अनुदार देखिएका छन्।

१९९० मा अमेरिकी कांग्रेसले प्राकृतिक विपत्ती, सैनिक विद्रोह एवम् हिंसात्मक गृह युद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकलाई मानवीय रुपले अस्थायी रुपमा संरक्षण गर्ने नीतिअनुसार टिपीएस नीति शुरु गरेको थियो। भूकम्प पछि नेपालीले पनि यो सुविधा पाएका थिए। भूकम्पबाट भएको क्षतिलाई आधार मान्दै अमेरिकी सरकारले तीन महिनापछि जुन २४ बाट लागु हुने गरी टिपिएस दिएको थियो।

अमेरिकाका आन्तरिक सुरक्षा सचिव क्रिस्टजेन नेल्सनका अनुसार नेपालीहरुका लागि घर फर्कनको लागि १ वर्षको समय सुविधा दिने वासिङटन पोष्टले उल्लेख गरेको छ। तर यसो नगरेमा उनीहरुलाई २०१९ जुन २४ पछि डिपोर्ट गरिने बताइएको छ। अमेरिकी राष्ट्रिति डोनाल्ड ट्रम्पले टीपीएसलाई दिर्घकालिन बसोबासको लागि प्रयोग हुन नदिने यस अघि बताइसकेका छन्।

अमेरिकामा निकारागुवा, हाइटी, होन्डुरस, सुडान एलसाभाल्भाडोर लगायत देशले १५ देखि १८ बर्षसम्म टिपिएस पाएका थिए। यस अघि अमेरिकी सरकारले एलसाल्भाडोर र होन्डुरसको टिपिएस नविकरण गरेको थिएन। ट्रम्प प्रशासनको आप्रवासी घटाउने योजनासागँ यो सुविधा लिइरहेका नेपालीहरु प्रभावित भएका हुन्।

 

 

प्रकाशित: १२ वैशाख २०७५ ०९:३८ बुधबार

टीपीएस नविकरण नहुँदा अमेरिकामा नेपाली प्रभावित हुने