प्रवास

बेलायती सहायक मन्त्री टमसले भने: बेलायत नेपाल हवाई सेवा पुनः सञ्चालन गर्न पहल गर्छु

बेलायतको व्यापार तथा व्यवसाय मन्त्रालय हेर्ने  सहायक मन्त्री गरेथ टमसले बेलायतबाट नेपालमा सिधा हवाई सेवा पुनः सञ्चालन गर्न आफ्नो सरकारले पहल गर्ने जनाएका छन्।

वेस्टमिन्स्टरस्थित ब्रिटिस संसदको पोर्टकुलिस हाउसमा सोमबार बेलुका आयोजित  'नेपाल बेलायत सम्बन्ध'  विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै सहायक मन्त्री गरेथ टमसले बेलायत तथा नेपालबिच सिधा उडान सम्पर्क कायम गर्न आफुले सक्दो पहल गर्ने बताए ।  उनले  गोर्खा सैनिकहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको माग सम्बोधन गर्न सरकार संवेदन रहेको जनाए  उनले बेलायतमा बसी रहेका नेपालीहरूले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, केयर लगायत विभिन्न क्षेत्रमा गरेको योगदानको प्रशंसा पनि गरे।

बेलायतको दक्षिण एसिया मामिला हेर्ने सहायक परराष्ट्र मन्त्री क्याथरिन वेष्टले ब्रिटिस प्रधानमन्त्री नेपालको भ्रमण गर्ने उपयुक्त समय आएको बताइन्।  उनले प्रधानमन्त्री कियर स्टारमरलाई स्वागत गर्न नेपाल इच्छुक रहेको कुरा आफुले उनी समक्ष पुराइ दिने बताइन् । उनले स्वच्छ हावा र सफा पानी पिउन पाउनु सबै जनताको अधिकार हो भन्दै वातावरण संरक्षणमा दुवै मुलुकहरू प्रतिबद्ध रहेको पनि जनाइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले गोर्खा सैनिकहरूले बेलायती सेनामा गरेको लामो र अति विशिष्टीकृत सेवा नै  दुई देशका बिचको दुई शताब्दी लामो मित्रताको आधार भएको बताए । उनले नेपाल तथा बेलायतबिच कायम  लामो र गहन सम्बन्ध तथा गोर्खा सैनिकहरूले बेलायतमा इमानदारीपूर्वक गरेको सेवालाई मध्यनजर गर्दै उनीहरुका जायज माग ढिला नगरी सम्बोधन गरिदिन ब्रिटिस सरकारलाई आग्रह गरे । नेता कोइरालाले गएको  दुई सय वर्षको अवधिमा कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको  भ्रमण नगरेको भन्दै ब्रिटिस प्रधानमन्त्रीलाई स्वागत गर्न नेपाल इच्छुक रहेको बताए।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले सन् १९२३ मा नेपाल तथा बेलायत बिच सम्पन्न शान्ति तथा मैत्री सन्धिले नेपालको स्वतन्त्रता र सार्वभौम सत्ता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।  उनले सन् २०१५ मा नयाँ संविधान जारी भए पछि नेपालमा  राजनीतिक स्थायित्व आएको जनाए।  प्रा सुवेदीले सन् १९९७ भन्दा पहिले ब्रिटिस सेनाबाट सेवा निवृत्त गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न पनि अनुरोध गरे।

कार्यक्रममा इन्जिनियर राज कुमार त्रिपाठीले नेपाल तथा बेलायतबिच ऐतिहासिक सम्बन्ध बारे प्रकाश पारेका थिए।  कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्मा, सल्लाहकार द्वय चिरञ्जीवी ढकाल, सूर्य गुरुगं लगायत बेलायतस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो ।

प्रकाशित: १ माघ २०८१ १५:३० मंगलबार