प्रवास

शेखर कोइरालाले गुटबन्दी गरेको नेपाली जनसम्पर्क समिति बेलायतको आरोप

'एकपक्षीय रूपमा सहभागी हुँदा विदेशमा बस्ने नेपालीबीच गहिरो विभाजनको खाडल बढ्ने सम्भावना'

नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाको बेलायत भ्रमणका क्रममा तय गरिएका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समिति बेलायतको ध्यान आकर्षित भएको छ।

नेपाली जनसम्पर्क समिति बेलायतले व्यक्तिगत पहलमा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यको निमन्त्रणामा बेलायत आएका कोइरालाले बेलायतस्थित नेपाली कांग्रेसको सुवेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतसँग कुनै समन्वय नगरी, कुनै व्यक्तिको लहटमा लागेर बेलायतका विभिन्न भट्टीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने तर उनकै सुझाव र सल्लाहअनुसार ११ जनवरी, शनिबारका दिन लण्डनस्थित फेलथाममा आयोजित कार्यक्रममा सहभागी नहुने निर्णयप्रति खेद प्रकट गरेको हो।

समितिका सभापति युवराज गुरुङका अनुसार सो कार्यक्रम गर्नको लागि कोइरालाले नेपालमा रहँदा मौखिक रूपमा सहमति दिएपछि मात्र सार्वजनिक गरिएको थियो भने कोइरालालाई जनसम्पर्क समितिले लण्डनस्थित हिथ्रो विमानस्थलमा भेटेरै निमन्त्रणापत्र हातमै थमाइएको थियो।

जननायक विपी कोइरालाको परिकल्पनामा स्थापित नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले गरेको नजरअन्दाजले महामानव विपी कोइरालाको अपमान र अपहेलना भएको समेत ठहर समितिको छ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'लोकतन्त्रमा सबैभन्दा ठूलो पार्टी पद्धति हुन्छ र पार्टीका लागि कार्यकर्ताहरूको प्राथमिकता पार्टी हुनुपर्छ भन्ने मान्यता राखिएको छ। तर कोइरालाले बेलायत जस्तो लोकतान्त्रिक मुलुकमा आएर आफ्नै पार्टीको शुभचिन्तक संस्थाप्रति गरिएको अपमानजनक व्यवहारको घोर निन्दा गरिन्छ।'

यसैबीच, १२ जनवरी, आइतबारका दिन लण्डनस्थित प्लम्बस्टेडको एक रेष्टुरेन्टमा नेपाली जनसम्पर्क समितिको नाममा हुने भेला नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक भेला नभएको जानकारी समेत गराएको छ। सभापति गुरुङले भने, 'नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक कार्यक्रम छोडेर एउटा गुटले आयोजना गर्न लागेको सो भेलामा नेता कोइराला जान लागेको खबरले हामीलाई थप दुःखी बनाएको छ।'

सो कार्यक्रममा कोइराला एकपक्षीय रूपमा सहभागी हुँदा विदेशमा समेत गुट प्रवृत्ति मौलाउँदै जाने र नेपालीहरू बीच गहिरो विभाजनको खाडल बढ्ने सम्भावना देखिएको उनले बताए। यसले समाजलाई विभाजनतिर डोर्याउने खतरा पनि पैदा गर्न सकने र गुटबाजी र पार्टीको अपमान हुने सम्भावना भएकाले उक्त कार्यक्रमको बहिष्कार गरिनुपर्ने कुरा पनि ध्यानाकर्षण भएको उनले बताए।

यसैबीच, कुनै पनि कानूनी, सामाजिक र संस्थागत हैसित प्राप्त नगरेको कथित नागरिक समाजले शुक्रबार साँझ साउथह्यारोमा आयोजना गरेको कार्यक्रममा कोइरालाको नाममा ठूलो रूपमा चन्दा संकलन गरिएको भन्ने सुनिएको हुँदा सो कार्यक्रमको संयोजन गर्ने जनसम्पर्क समितिका पूर्वमहामन्त्री राजकुमार त्रिपाठीमाथि छानबिनको दायारामा ल्याउन नेपाली कांग्रेस पार्टीसमक्ष अनुरोध समेत समितिले गरेको छ।

प्रकाशित: २८ पुस २०८१ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App