प्रवास

एनआरएनएले आइतबार काठमाडौंमा ग्लोबल कन्क्लेभ गर्ने

सात वटा प्लेनरी सत्रमा छलफल हुने

गैर–आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)ले आइतबार र सोमबार काठमाडौंमा वार्षिक साधारणसभा तथा ग्लोबल कन्क्लेभ गर्ने भएको छ। “रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नाराका साथ हुने कन्क्लेभको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने एनआएनएले जनाएको छ ।  

एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रममा ७ वटा प्लेनरी सत्रमा छलफल हुने जानकारी गराएको हो । सरकारका मन्त्री तथा उच्च अधिकारीसहित देशविदेशबाट गरी ५ सयभन्दा बढी सहभागी हुने उक्त कार्यक्रमको पहिलो दिन आइतबार नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुने आइसीसीका महासचिव गौरी राज जोशीले जानकारी दिए।  

दोस्रो दिन सोमबार राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र  नेपाल पर्यटन प्रवर्धन : नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यसहित स्थानीय तहका प्रमुख तथा प्रदेशस्तरका मन्त्रीको सहभागिता रहने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने विश्वास लिएको महासचिव जोशीले बताए।  

१० अर्बको लगानी रहने एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि भइरहेको तयारीबारे छलफल गर्ने बताउँदै उनले यसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने दीर्घकालीन परियोजनाहरूलाई  सहयोग पुर्याउने विश्वास व्यक्त गरे। ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग हुने उनको भनाइ छ।  

सोमबार गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गर्ने जानकारी दिँदै पत्रकार सम्मेलनमा महासचिव जोशीले संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने बताए । साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारी तथा प्रतिनिधिहरु काठमाण्डौं आइसकेको उनले बताए ।

प्रकाशित: ९ कार्तिक २०८१ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App