प्रवास

मेयर साम्पाङ १४ दिने लामो भ्रमणका लागि लन्डनमा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ १४ दिने लामो भ्रमणका लागि बेलायत आएका छन्।

उनी धरान समाज युकेको निमन्त्रणामा बिहीवार साँझ लन्डन आइपुगेका हुन्। भ्रमणको क्रममा उनले विभिन्न शहरका मेयरहरूसँग भेटघाट, संसद भवनको भ्रमण, र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको एक प्रमुख उद्देश्य धरानको चिन्डे डाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाका लागि आर्थिक सहयोग संकलन गर्नु रहेको बताइएको छ। साम्पाङले यो अभियान बेलायतभर विभिन्न नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढाउने योजना बनाएका छन्।

लन्डनस्थित हिथ्रो विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले आफ्नो बेलायत भ्रमणलाई ऐतिहासिक भन्दै यसले धरान र नेपाली समुदायबीच नयाँ सम्बन्धको सुरुवात गर्ने दाबी गरे। उनले भने,'मैले स्थानीय चुनावमा भाग लिँदा आर्थिक, सामाजिक, र राजनीतिक रुपमा मलाई ठूलो समर्थन गर्ने समुदाय बेलायतमा छ। तिनलाई धन्यवाद दिन र केही नयाँ सन्देश लिएर फर्किन म यहाँ आएको हुँ।'

साम्पाङले नेपालमा इमान्दार राजनीति गर्न कठिनाइ भएको चर्चा गर्दै आफूले इमान्दार भएर काम गर्दा धेरैको माया पाएको बताए। साथै, उनले देशमा सरकारको स्थायित्व नभएको अवस्थामा काम गर्न असजिलो भएको पनि बताए।

साम्पाङको स्वागतका लागि धरान समाज युके, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युके, किरात राई यायोक्खा युके, एनआरएन युके, गोर्खा नेपाली समाज मेडवे, किरात बान्तावा खिम युके, किरात साम्पाङ राई जुम्लेखा युके लगायतका संघ–संस्था, पत्रकार, र समाजसेवीहरू हिथ्रो विमानस्थलमा पुगेका थिए।

धरान समाज युकेका अध्यक्ष रमेश लिम्बु, कार्यक्रम संयोजक उपाध्यक्ष भास्कर राई, किरात राई यायोक्खा युकेका डा. महा राई, किरात साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिव राई, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युकेका भगवान चाम्लिङ, र गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङले मेयर साम्पाङलाई औपचारिक स्वागत गरेका थिए।

मेयर साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: २ कार्तिक २०८१ ०८:१४ शुक्रबार

#Harka Sampang