प्रवास

बेल्जियमको स्थानीय निर्वाचनमा दुई नेपाली विजयी

बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैर आवासीय नेपालीहरू निर्वाचित भएका छन्।

आइतबार भएको विभिन्न नगरपालिका, जिल्ला, र क्षेत्रहरूमा फरक-फरक पार्टीबाट नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन क्षेत्रमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुजमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्। २५ वर्षीया युवा उम्मेदवार तिमल्सिना कास्की जिल्लाबाट बेल्जियम पुगेकी हुन्।

स्थानीय पत्रकार केजीन राईका अनुसार, बेल्जियमको इतिहासमै पहिलो पटक नेपाली समुदायका प्रतिनिधिहरू निर्वाचनमार्फत स्थानीय सरकारमा प्रवेश गरेका हुन्।

गैर आवासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्। उनले नेपाली मूलका उम्मेदवारको विजयले नेपाली समुदाय उत्साहित भएको पनि बताए।

नेपाली उम्मेदवार भएका अधिकांश क्षेत्रमा, नेपाली उम्मेदवारहरूबिच नै प्रतिस्पर्धा हुँदा नेपाली मतदाताहरूलाई कसलाई मत दिने भन्नेमा अलमल भएको थियो।

प्रकाशित: २८ आश्विन २०८१ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App