प्रवास

डायस्पोरालाई नेपालसँग जोड्न अनलाइन मिडियाको भूमिका महत्त्वपूर्ण

बेलायतस्थित नेपाली समुदायको विशेष उपस्थितिमा लन्डनमा नेपालब्रिटेन डट कमले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ।

नेपाली दूतावास लन्डन, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, व्यवसायी र स्टकल्यान्ड, वेल्स, मिडल्यान्ड, लिभरपुल लगायतका क्षेत्रबाट जम्मा भएका तीन सय जनाको उपस्थितिमा १७ औँ वार्षिकोत्सव समारोह भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमको ढाँचा, उपस्थिति र आमचासोका दृष्टिले यसलाई नेपाली डायस्पोराकै सर्वाधिक सफल र प्रभावकारी भनेर सहभागीहरुले टिप्पणी गरेका छन्। नेपाल ब्रिटेनको वार्षिकोत्सव बेलायतमा बस्ने नेपालीले प्रतीक्षा गर्ने एक महत्त्वपूर्ण चाड नै बन्न पुगेको छ। यसो हुनुको कारण केवल एक समाचार संस्थाको उमेर गन्ती मात्र होइन, यसले आर्जन गरेको विश्वसनीयता, सर्वपक्षीय स्वीकार्यता र प्रवासी नेपालीलाई आफ्नो मातृभूमिसँग जोड्नका लागि खेलेको भूमिका नै प्रमुख कारण रहेको कार्यक्रमका वक्ता तथा विशिष्ट अतिथिहरुले बताए।

एक  समारोहको उद्घाटनमा स्पेल्टन काउन्सिलका मेयर मेड ब्रुक्स्, गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी, नेपाली दूतावास लन्डनका प्रतिनिधि रामबाबु नेपाल र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संयुक्त रुपमा पानसमा बत्ती बालेका थिए। सो अवसरमा १७ औँ वार्षिकोत्सवको केक पनि काटिएको थियो।

आइतवार लन्डनस्थित स्ट्यावेल कम्युनिटी हलमा आयोजितमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले मिडिया स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने सैद्धान्तिक विषय भए पनि समाजका गतिविधिहरुकै उपज मिडियामा आउने समाचारहरु हुने बताए।

उनले सामाजिक सञ्जाल आएपछि परम्परागत मिडियाहरुलाई चुनौती थपिएको धारणा राखे। सांसद सुवेदीले पछिल्लो समयमा सामाजिक मिडियको प्रभावले मिडियाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालब्रिटेन डट कमले गैरआवासीय नेपालीहरुको आवाज उठाउन निकै ठूलो भूमिका निर्वाह गरेको बताए। उनले विदेशमा रहेका नेपालीहरुको समाचारलाई तत्कालै पस्किन नेपालब्रिटेन डट कम सफल रहेको बताए।

उनले नेपालको समृद्धिमा जोडिन गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै आफ्नो आम्दानीको कम्तीमा १० प्रतिशत लगानी नेपालमा लैजान आग्रह गरे। उनले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा लैजानुपर्ने विचार व्यक्त गरे।

नेपालब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु डा. हेमराज शर्मा, रामशरण सिमखडा, रोजिना प्रधान राई, सचिव टीका गुरुङ, मेयर जित रानाभाट, नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, ओएनएफका अध्यक्ष टुंगा भुषाल, प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटा, नेपाल प्रेस युनियन यूकेको अध्यक्ष विपिन निरौला, पत्रकार खगेन्द्र नेपाली एनआरएनएका सल्लाहकार सूर्य गुरुङ लगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा फेलथामस्थित रिभर एकेडेमीमा अध्यनरत १३ वर्षीया टिया आचार्यले नेपालमा आफूले परोपकारी काम गरेको भिडियो डकुमेन्ट्री प्रस्तुत गरेकी थिइन्। उनले नेपालमा आफूले एनिमल राइट र गरिब तथा जेन्दार विद्यार्थीहरुको लागि सहयोग गर्न चाहेको बताएकी थिइन्। उनले गत वर्ष नेपालब्रिटेन डट कमको वार्षिकोत्सवमा संकलित रकमबाट नेपालमा गरेको परोपकारी कार्यको जानकारी पनि गराएकी थिइन्।

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रमा कार्यरत १० चर्चित नेपालीको नाम सार्वजनिक गरी सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेमा जित रानाभाट (मेयर अफ ग्रिनविच), प्रोफेसर डा तेजेन्द्र फेराली, समाजसेवी शेरबहादुर सुनार, कलम गुरुङ (व्यवसायी), मोहन कार्की (समाजसेवी), राजन खकुरेल (युवा समाजसेवी), नारायण फुयाल (समाजसेवी), धन तामाङ (कफी लाटे स्पेसलिस्ट), गोमा पौडेल (पहिलो महिला सेफ) र स्नेहा शाक्य श्रेष्ठ (युवा तथा महिला ब्यारिस्टर) रहेका छन्।

यसै अवसरमा ‘तमुधीं यूके’ बेलायतको उत्कृष्ट नेपाली सामाजिक संस्थाको रुपमा सम्मानित भएको छ। बेलायतबाट सञ्चालित नेपालब्रिटेन अनलाइन प्रोटलले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार लन्डनमा सम्मान गरेको हो। तमुधीं यूके बेलायतको च्यारिटी हाउसमा दर्ता भएको संस्था हो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी, स्फेल्टन काउन्सिल मेयर मेड बक्स्ले संयुक्त रुपमा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङलाई प्रमाणपत्र सहित सम्मान गरेका हुन्।

कार्यक्रममा तमुधीं यूकेका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति थियो। नेपालब्रिटेन डट कमले नेपालको पर्यटन क्षेत्रमा उत्कृष्ट काम गरेवापत् गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटालाई सम्मान गरेको छ। सोही अवसरमा वेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाललाई उत्कृष्ट नेपाली डेप्लोम्याटको रुपमा सम्मान गरिएको थियो।

पत्रकार देवी गौतमले सञ्चालन गरेको समारोहमा नेपालबाट आएका कलाकालहरुले धमाकेदार प्रस्तुति दिएका थिए। कार्यक्रममा डान्सर आरुसी मगरको प्रस्तुतिलाई दर्शकहरुले निकै मन पराए। गायक सुजन पराजुलीले राष्ट्रिय गीत गाएका थिए। यस्तै, कलाकारद्वय कला लम्साल र चोलेन्द्र पौडेलले आआफ्नो प्रस्तुति थिए। कार्यक्रममा नेपालब्रिटेन डट कमका विज्ञापनदाता तथा सहयोगीहरु पनि सम्मानित भएका थिए।

प्रकाशित: २० भाद्र २०८१ ०७:५० बिहीबार