प्रवास

अमेरिकामा दुई नेपाली महिलाको मृत्युले हल्लाएको मथिंगल

नेपाल प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा हरेक दिन सरदरमा दुई जनाको हत्या हुन्छ। एकाधबाहेक सबैजसो घटना समाचारसमेत बन्न सक्दैनन्। पछिल्लो केही दिनयता देशभित्रै भएका हत्याका घटना कत्तिको स्मृतिमा आउँछन् ? गत शुक्रबार मात्रै नेपाल आयल निगमको महेन्द्रनगर (धनुषा) इन्धन डिपोमा कार्यरत राकेशकुमार बर्माको हत्या भयो। भदौ १० गते मात्रै हेटौंडा उपमहानगरपालिका–१० स्थित रत्ना होटलमा २३ वर्षीया एलिशा न्यौपाने हत्या गरिएको अवस्थामा फेला परिन्। उनलाई पतिले नै हत्या गरेको आशंका छ।  

यी दुई प्रतिनिधि घटना कतिले सम्झेका छन् ? यी घटनाको गहिराइसम्म पुग्ने कति होलान् ? नेपालभित्र मात्रै होइन, बाहिर पनि यसैगरी नेपालीको हत्या भइरहन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन सरदरमा चारजना बाकसमा फर्किन्छन्। त्यसमध्ये कैयौंको हत्या भएको हुन्छ, तथापि ती घटनामा कतिको हत्या भयो ? प्रस्ट आँकडा सरकारी निकायसँग भेटिन्न । विशेषबाहेक ती घटनाहरूबारे खासै चर्चा हुन्न। अमेरिकामा भएका दुई घटनामा भने यतिबेला नेपाली समाज स्तब्ध छ । ती घटनाबारे जानकार नभएको वा जान्न रुचि नभएका नेपाली बिरलै छन्।

पहिलो घटना, जसमा महिनौंदेखि बेपत्ता काभ्रेकी ममता काफ्ले भट्टको हो। अमेरिकाको भर्जिनियास्थित मनसास पार्कमा पति नरेश भट्टसँगै बस्दै आएकी ममता जुलाई २८ (साउन १५) देखि बेपत्ता छिन्। ममता स्टाफ नर्स हुन् भने नरेश अमेरिकी सेनाका जागिरे। अमेरिकी प्रहरीले बेपत्ता ममताको हत्या भएको निष्कर्ष निकाल्दै पति नरेशलाई भदौ ७ गते नियन्त्रणमा लिएको छ। स्थानीय अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । प्रहरीले अनुसन्धान गरिरहँदा भट्टले इन्कारी बयान दिइरहेका छन् भने ममताको शव पनि भेटिएको छैन। तर अमेरिकी प्रहरीले हत्या भएको प्रस्ट प्रमाण फेला परिसकेको दाबी गरेको छ ।

दोस्रो घटना, गोली हानी हत्या गरिएकी नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हो। भोजपुर पुख्र्यौली भएकी मुना सन् २०२१ मा मात्रै स्नातक अध्ययन गर्न अमेरिका पुगेकी थिइन्। अमेरिकाको ह्युस्टन सहरको ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत मुना अघिल्लो सोमबार (भदौ १० गते) अपार्टमेन्टको आफ्नै कोठामा मृत फेला परेकी थिइन्। 

उनीमाथि गोली प्रहार भएको थियो। सिटिटिभी फुटेजका आधारमा मुनालाई गोली प्रहार गर्ने व्यक्ति अमेरिकी प्रहरीले पक्राउ गरिसकेको छ। हत्यारा ५१ वर्षीय भारतीय मूलका अमेरिकी नागरिक बबीसिंह साह रहेको खुलेको छ। प्रहरीले बबी डकैती वा लुटपाटको उद्देश्यले मुनाको कोठामा प्रवेश गरेको शंका गरेको छ। अर्को समाचारअनुसार मुना र बबीबीच पहिल्यैदेखि चिनजान रहेको भनिएको छ। पछ्याउँदै गएका बबी मुनाले अपार्टमेन्टभित्र पस्ने बेला ढोकामा वादविवाद भएको र भित्र पसेर चार गोली प्रहार गरेको सिसिटिभीमा देखिएको छ।

यी दुवै घटनासँग नेपाली समाज अनभिज्ञ छैन। यी घटनाबारे विदेशीदेखि स्वदेशी मूलधारका सञ्चारमाध्यमले दिनहुँ केही न केही सूचना सार्वजनिक गरिरहेका छन्। यस्तै युट्युबदेखि, फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, टिकटकसम्ममा सामाजिक सञ्जालले पनि विभिन्न खाले टीकाटिप्पणीसहितका सूचना प्रवाह गरिरहेका छन्। सञ्चारमाध्यमले यति धेरै कभरेज गर्नुको कारण पनि नेपाल र विश्वभर फैलिएको नेपाली समाजको ध्यान तानिनुले पनि हो। अहिले दुवै घटनाबारे समाचारमूलक सामग्री सबैभन्दा पढिने र हेरिने सामग्री बनिरहेका छन्। अनलाइन समाचारका साइटदेखि युट्युबका च्यानलसम्म यिनै घटनासँग जोडिएका सामग्री ‘ट्रेन्डिङ’मा छन्।  

किन यति धेरै चासो ?

‘यही घटना डडेलधुरामा भएको भए समाचार त बन्थ्यो होला तर त्यति महत्त्व पाउँदैैनथ्यो होला। यसरी आम रूपमा ध्यान तान्न सक्ने बन्दैनथ्यो,’ यी घटनाले यति धेरै नेपालीको ध्यान तान्नुको कारणबारे जिज्ञासा राख्दा समाजशास्त्री डा. गणेश गुरुङले जवाफको पृष्ठभूमि बाँध्दा भनेको कुरा हो यो। नेपाली समाज कति ठुला मानिएका कुरालाई महत्त्व दिन्छ भन्ने उदाहरण यी घटना भएको उनले बताए। 

‘यहाँ बस दुर्घटनामा ३०औं जना मानिस मर्दा कम चासो र सरकारी चिन्ता थोरै हुन्छ। हेलिकोप्टर दुर्घटनामा दुई जना मात्रै मर्ने हो भने जाँचबुझ आयोग बन्छ। अमेरिकाका ती घटना पनि यही नेपाली संवेदना र दृष्टिकोणका उपज हुन्,’ उनले भने। नेपाली समाज कति उच्चतामा विश्वास गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको उनको भनाइ छ।

गुरुङको बुझाइमा यस्ता घटना नेपालमा दिनहुँ हुन्छन् खासै चासो हुन्न । नेपालमा मात्रै नभई खाडीमा नेपाली युवाले दिनहुँ ज्यान गुमाइरहेका छन्। त्यसले पनि खासै ध्यान तान्दैन । उनी भन्छन्, ‘किन भन्दा त्यहाँ गरिब पुग्ने हो । बस चढ्ने गरिब र खाडी जाने गरिबबारे न सरकार न समाजको ध्यान तानिन्छ। जहाँ धनी बस्छ, त्यहींको चासो हुन्छ सरकार र समाजको। यो नै हाम्रो समाजको दुःखद चित्र हो।’ सबैले जान चाहने तर जान नसक्ने गन्तव्य भएकाले अमेरिकाबारे जान्ने, सुन्ने उत्सुकता पनि बढी हुनु अर्को कारण रहेको गुरुङको धारणा छ।

‘अमेरिका धेरैका लागि चासोको देश हो। त्यसमा पनि कठिन गेट पार गर्दै त्यहाँ पुगेका आफ्नै नेपाली युवतीमाथि यस्तो घटना भएको देख्दा आम चासो बढेको देखिन्छ,’ उनले भने। गुरुङको पछिल्लो धारणाजस्तै बुझाइ लामो समय अपराध अनुसन्धानमा बिताएका नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लको पनि छ। ‘मौका पाए जोकोही अमेरिका जान चाहन्छ। आफू नभए सन्तान पठाउन चाहन्छ। यस्तोमा त्यहाँ बस्ने नेपाली समाजबारे निश्चय सबैको चासो हुन्छ,’ उनी भन्छन्, ‘त्यही भएर यी घटनाले ध्यान तानेका हुन्।’  

यीबाहेक पनि सबैभन्दा ‘सुरक्षित’ ठाउँ भनेर मानिएको अमेरिकामा यस्ता घटना हुँदा ध्यान तानेको उनको बुझाइ छ। उनले भने, ‘अमेरिकामा अपराध नहुने भन्ने होइन। हुन्छ तर हाम्रोजस्तो मुलुकको तुलनामा कम। अर्थात् केही हदसम्म सुरक्षित नै मानिन्छ। त्यसैले त्यहाँ अपराध हुँदा त्यसमा पनि नेपालीमाथि नै हुँदा स्वाभाविक बढी ध्यान तानियो।’ यी घटनामा ध्यान तानिनुमा अर्को कारण यस्ता घटना हुँदा अमेरिकी समाजमा जागृत हुने संवेदना पनि रहेको पूर्वडिआइजी मल्लको बुझाइ छ।

‘अमेरिकामा घटना हुँदा त्यहाँको समाज जाग्छ । जनता चासो लिएर मैनबत्ती बोकेर सडकमा उत्रिन्छ । नेपाली युवतीको हत्या हुँदा पनि त्यसैगरी निस्कयो। जसको समाचार सुनेका अमेरिकी समुदाय बाहिर निस्किँदा नेपाली भावनालाई छोएको पनि देखिन्छ,’ मल्लले अगाडि थपे। उता अमेरिकामा नेपाली समुदायको अगुवाइ गर्दै आएका नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट यी घटनामा अमेरिकामा रहेको नेपाली समाजले देखाएको चासोले पनि नेपाल र बाहिर रहेका नेपालीको ध्यान तानेको हुन सक्ने बताउँछन्।

‘अमेरिकामा नेपाली समाज निकै ठुलो आकारको भइसकेको छ। त्यसैले नेपाली समाजमाथि हुने घटनामा एकत्रित भएर सरकारको पनि अमेरिकाको ध्यानाकर्षण गराउने हैसियत बनेको छ,’ उनले भने, ‘जुन भयो पनि, ममताको घटनामा नेपाली समुदायले नै प्रहरीले अनुसन्धान गर्न पहिले दबाब दिएको हो। त्यहीं दबाबले सिंगो विश्वको ध्यान तान्यो।’ बलियो देशमा संगठित नेपाली आवाज उठ्दा विश्वको ध्यान तानिनु आफैंमा सुखद कुरा रहेको पनि उनी बताउँछन्।  

विश्वका जुनसुकै कुनामा हुने मृत्युले नेपाली समाजलाई छुनुपर्नेमा विष्टको तर्क छ। ‘मृत्यु जुन कुनामा भए पनि मृत्यु हो। सबैलाई छुनुपर्छ। सबैको भावना जोडिनुपर्छ। अमेरिका वा खाडीको मृत्यु भन्ने हुनुहुन्न,’ उनले भने । उनको बुझाइमा पनि अमेरिका सबैको सपनाको गन्तव्य हुने भएकाले त्यहाँको घटनाले बढी चासो बढाएको हो।

घटनाको सन्देश

यी घटनामा चासो लिने सँगसँगै अमेरिकामा हुने आप्रवासन, त्यहाँको बसाइ, रहनसहनबारे नेपाली समाज चनाखो हुनुपर्ने विष्टको सुझाव छ। ‘हामी सबै अमेरिका आउन चाहिरहेका छौं। सबै ससानो उमेरमै बालबच्चा अमेरिका पठाइ पनि रहेका छौं । तर अमेरिकी सपनामा हामी कसरी आइरहेका छौं ? कोमार्फत आइरहेका छौं ? अमेरिकामा आएर के गरिरहेका छौं ? त्यो पनि सोची–सम्झी बुझेर आउन वा सन्तान पठाउन जरुरी छ,’ विष्ट भन्छन्, ‘हामीले बेहत्तर जिन्दगी खोजेर यहाँ आउँदा कस्तो व्यक्ति चुन्यौं ? कस्तो कामका लागि आयौं ? आएर हाम्रा सन्तान कतै कुलतमा पो फस्यौं कि ? बुझ्न पनि जरुरी बनेको छ।’ 

प्रकाशित: १९ भाद्र २०८१ ०६:४८ बुधबार

#Death #amerca #Muna Pande #Mamta-Kafle