प्रवास

इजरायली केयरगिभरका लागि दिइएका प्रमाणपत्र नक्कली भएपछि रद्द

वैदेशिक रोजगार विभागले इजरायली दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पदमा जान दिइएका आवेदनमध्ये पाँच सय ६३ लाई रद्द गरेको छ। विभागले इजरायलका लागि केयरगिभरमा आवेदन खुलाएपछि परेका आवेदनमा नक्कली प्रमाणपत्र फेला परेपछि तिनलाई रद्द गरिएको हो। कामका आकांक्षी युवालाई नक्कली प्रमाणपत्र बेच्ने गरिएको पनि यस घटनाले उजागर गरेको छ।

विभागले त्यसरी रद्द गरेका आवेदन दिनेहरू चालै नपाई नक्कली प्रमाणपत्र भिडाइएका कारण पीडित भएका हुन्। एकातिर तिनको मोटो रकम खर्च भएको छ भने अर्कातिर तिनले वैदेशिक रोजगारीमा जान नपाउने भएका छन्। रोजगारीका लागि इजरायली केयरगिभरमा जान चाहने युवाहरू सामाजिक सञ्जालमा दिइएको जानकारीका आधारमा नयाँ बानेश्वरस्थित सिटी एज केयर ट्रेनिङ एन्ड रिसर्च सेन्टरमा पुगेका थिए। त्यहाँ पुगेका युवालाई विभिन्न प्रलोभनमा सेन्टरले केयरगिभरको प्रमाणपत्र बेचेको थियो। यसरी किनेको प्रमाणपत्र सक्कली भए त उनीहरू रोजगारीमा जान पाउने थिए, तर स्थिति त्यस्तो रहेन।

पीडित एक युवाका अनुसार, प्रतिव्यक्ति ३० हजार रूपैयाँ लिएर केयरगिभरको सर्टिफिकेट बिक्री गरिएको थियो। सेन्टरले एक सयभन्दा बढी व्यक्तिलाई यसरी प्रमाणपत्र बेचेको थियो। ‘घरपरिवारलाई इजरायल जान ट्रेनिङ लिइरहेको थाहा छ’, आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै ती युवाले मंगलबार नागरिकसँग भने, ‘हामीलाई नराम्रोसँग पैसा लिएर ठग्यो ।’

विभागले सिटिइभिटीबाट मान्यता प्राप्त नभएको भन्दै आवेदनहरू रद्द गरेपछि यो विषयबाहिर आएको हो । त्यसपछि आवेदन रद्द भएकाहरूले सेन्टरबाट पैसा फिर्ता माग्न थालेका छन्। यसअघि सिटिइभिटीबाट मान्यता प्राप्त गरेको भन्दै उनीहरूलाई प्रमाणपत्र दिइएको थियो। पढाउँदै नपढाई पुरानो मिति राखेर प्रमाणपत्र दिने गरिएको आरोप पीडित युवाहरूको छ।

वैदेशिक रोजगार विभागले नक्कली प्रमाणपत्रधारीलाई रद्द गरेपछि बल्ल आफू ठगिएको थाहा पाएका थिए । ‘त्यसरी बनाइएको नक्कली प्रमाणपत्र विभागले रद्द गरिदिएपछि मात्रै आफू ठगिएको थाहा पाएँ’, उनले भने, ‘केही पीडित साथीभाइले सेन्टरबाट पैसा फिर्ता माग्न थालेका छन् भने केहीले नक्कली प्रमाणपत्र बनाउने सेन्टरविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।’

ती युवालाई सेन्टरले २८ फागुन २०७९ देखि २९ जेठ २०८० सम्मको केयरगिभरको तालिम दिएको भन्दै प्रमाणपत्र बनाइदिएको थियो । ती युवा एक महिनाअघि मात्रै केयरगिभरको तालिम लिन गएका थिए। सेन्टरले २०७९ फागुनदेखि २०८० जेठसम्म तीन महिनाको प्रमाणपत्र कुनै तालिम नदिई प्रदान गरेको थियो। आवेदन रद्द भएकाहरूका हकमा विभागको अनलाइन सिस्टमले सिटिइभिटीबाट सम्बन्धन प्राप्त पत्र र स्ट्याम्प भएको कागजात पेस गर्न भनेको थियो, तर उनीहरूले त्यस्तो प्रमाणपत्र पेस गर्न नसकेपछि रद्द गरिएको विभागले जनाएको छ।

विभागको अभिलेखमा समेत सिटी एज केयर सिटिइभिटीबाट सम्बन्धन (स्वीकृति भएका संस्था) लिएर केयरगिभरको तालिम लिने संस्थान भएको देखाएको छ । उक्त संस्थाबाट लिइएको प्रमाणपत्रसहित आवेदन परेपछि विभागले सिटिइभिटीलाई प्रमाणीकरणका लागि पठाएको थियो, तर सिटिइभिटीबाट सम्बन्धन लिएको नपाइएपछि रद्द गरिएको विभागले जनाएको छ।

‘सिटी एज केयरले सिटिइभिटीबाट सम्बन्धन नै नलिई केयरगिभरको तालिम दिँदै आएको छ। त्यो पनि पढाउँदै नपढाई पुरानो मिति राखेर सर्टिफिकेट दिने र पछि पढाउने गरेको छ। हामीलाई पनि थाहा थिएन । सुरुमा पछि विभागबाट रिजेक्ट भएपछि मात्रै थाहा पायौं’, इजरायल केयरगिभरमा जाने सपना पालेका पीडित युवाले भने।

सिटी एज केयरले सम्बन्धनका लागि सिटिइभिटीमा प्रस्ताव गरेको थियो। सिटिइभिटीले गत वैशाख ९ मा प्रतिवेदन बनाएर एक समूहमा २० जनालाई तालिम दिन सकिने भौतिक पूर्वाधार तयारी भएको टिप्पणी उठाएको थियो। सोही आधारमा सम्बन्धन स्वीकृतिका लागि सिफारिस गरिएको थियो, तर हालसम्म उक्त संस्थाले सम्बन्धन पाइनसकेको सिटिइभिटीले जनाएको छ। सम्बन्धन नपाउँदै सिटीले विद्यार्थीहरूलाई पछिल्लो मिति राखेर प्रमाणपत्र दिँदै आएको हो।

सिटिइभिटीबाट सम्बन्धन लिने प्रक्रियामा आफ्नो सेन्टर रहेको सिइओ तथा फाउन्डर सुवास खड्काले बताए। सम्बन्धनका लागि सिटिइभिटीमा यसअघि नै आवेदन दिएको तर हालसम्म निर्णय नभएको बताए। तर सिटिइभिटीबाट प्रतिवेदन तयार भइसकेको र उक्त प्रतिवेदनलाई नै आफूहरूले सम्बन्धन पाइसकेको भन्ने बुझाइ रहेको उनले बताए। सिटिइभिटीले सम्बन्धनका विषयमा हालसम्म कुनै निर्णय नगरेको जानकारी आफूहरूले अहिले थाहा पाएको उनले बताए।

‘सम्बन्धनका लागि जाँच गर्न सिटिइभिटीबाट आएर अनुगमन गर्नुभएको थियो । त्यतिबेला एउटा यो–यो गर्न पाउने भनेर सूची दिनुभएको थियो। त्यसपछि कुनै नोटिस आएन’, खड्काले भने, ‘त्यसैलाई हामीले सम्बन्धन पाएको होला भन्ने सोच्यौं। पछि सर्टिफिकेट रोकिएपछि मात्रै थाहा भयो।’ आफूले सर्टिफिकेट घर घरमा गएर नबाँडेको उनको भनाइ छ।

‘हामी फ्रड (धोकेबाज) होइनौं। उनीहरूलाई केही न केही ज्ञान दिएका पनि हौं। विभागबाट रद्द भएका सबैलाई हामीले पैसा दिइरहेका छौं’, खड्काले नागरिकसँग भने, ‘हामीले त कमसेकम एक महिना मात्रै भए पनि पढायौं। प्रमाणपत्र बेचेर पछि पढाउने थुप्रै संस्था छन्। त्यति मात्रै होइन, यहाँ कतिपयले नपढाउँदै प्रमाणपत्र दिने गरेका छन्।’ पीडित युवाले भने आफू ठगिए पनि अरू साथीभाइ ऋण गरेरै पढ्ने र ठगिने जोखिम हुने हुँदा सबै सचेत हुनुपर्ने बताए।

प्रकाशित: २३ श्रावण २०८१ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App