प्रवास

पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द

सेवा बन्द गर्न निर्देशन नदिइएको फ्रान्सस्थित दूतावासको भनाइ

पोर्चुगलको राजधानी लिस्बनमा रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ।  

महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो। फ्रान्सको पेरिसस्थित नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जनाउँदै कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ।

दूतावासले पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भइसकेको भन्दै कामकारबाही बन्द गर्न निर्देशन दिएबमोमिज सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ। दूतावासको निर्देशनमा कार्यालयको सम्पूर्ण सेवा बन्द भएको जनाउँदै महावाणिज्यदूतावासले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

दूतावासले मौखिक रुपमा ठाडो आदेश दिएर कार्यालयको दैनिक कामकारबाही र सेवा बन्द गर्न भनेपछि दूतावासको निर्देशनबमोजिम नै सेवा बन्द गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए। दूतावासको ठाडो आदेश र अपमानजनक व्यवहारले दुखित तुल्याएको बताउँदै महावाणिज्यदूत हमालले नेपाल सरकारको प्रतिनिधिका रुपमा रहेर दश वर्षसम्म गरेको सेवा र योगदानको दूतावासले अवमूल्यन गरेको गुनासो गरे।  

'राजदूत नियुक्त भएपछि मेरो कार्यभार स्वतः सकिन्छ। कार्यालयको कामकारबाही र सेवा स्वभाविकरुपमा बन्द गर्नुपर्छ। त्यसमाथि मेरो कार्यावधि पनि जुलाईमै सकिन्छ । कार्यालयको काम कारवाही र सेवा बन्द गर्ने पनि त विधी, प्रकृया होला नि यसरी तत्काल बन्द गर्नु भन्ने आदेशले यहाँका हजारौं नेपालीले दुःख पाउने भएका छन् । उनीहरुका कागजी कामहरु प्रभावित हुने भएका छन् । कागजी प्रकृयामा रहेका सेवाग्राहीलाई हामीले के जवाफ दिने ?,' हमालले भने।  

यता पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने महावाणिज्यदूतावासले भने जस्तो कामकारबाही र सेवा बन्द गर्न निर्देशन नदिइएको बताए। उनको कार्यावधि सकिएका कारण थपेर निरन्तरता दिनका लागि दूतावाससँग समन्वय र सहजीकरण गर्न भनिएको राजदूत भट्टराईले बताए। 'कार्यवधि सकिएका कारण कतिपय काममा कानूनी समस्या आइनपरोस् भन्नका लागि र उहाँले गर्नुभएको योगदानको सम्मानका लागि समन्वय र सहजीकरण गर्न भनिएको हो,' राजदूत भटराईले भने। 

महावाणिज्यदूतावासको सेवा बन्द भएसँगै पोर्चुगलमा रहेका नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् । सोमबार मात्रै सरकारले परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ। यसअघि पोर्चुगलका लागि राजदूत नियुक्त भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए। हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्यदूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो।  

सरकारले सन् २०१४ मा हमाललाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो भने सन् २०२० मा महावाणिज्यदूतमा पदोन्नतिसमेत गरेको थियो।

प्रकाशित: १७ श्रावण २०८१ १८:५० बिहीबार

#Lisbon Portugal