प्रवास

नेवासेनिका अध्यक्ष अधिकारीसमक्ष जापानवासी नेपालीको प्रश्न, गुनासो र आक्रोश

नेपाल वायु सेवा निगमको टोक्यो–काठमाडौँ–टोक्यो रूटको उडान टिकट महँगो भएको जनगुनासो व्यापक भइरहेका बेला टोक्योमा एक कार्यक्रमको आयोजना भएको छ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग जापानबासी नेपालीले सोमबार प्रश्न, गुनासो र आक्रोश पोखे।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा भएको अन्तरक्रियासहित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागीहरूका प्रश्नको जवाफ दिँदै अधिकारीले अन्य प्रतिस्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडा दर महँगो नहुने गरी समायोजनलगायतका सुधारका कार्य गर्न लागेको जानकारी दिएका छन्।

प्रतिस्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरी व्यावसायिक सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।

‘राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तर्राष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरी आवश्यक कार्य भइरहेको छ’, कार्यकारी अध्यक्ष अधिकारीले भने, ‘सबैले राष्ट्रिय ध्वजाबहाक जहाजलाई माया गरिदिन र सरकारले पनि आवश्यक सहयोग गरिदिन आग्रह गर्दछु।’

अन्तर्राष्ट्रिय रुपमा १० वटा स्टेसनबाट नेपाल एयरलाइन्सले सेवा दिइरहेको जानकारी दिँदै कार्यकारी अध्यक्ष अधिकारीले निकट भविष्यमा जापानको ओसाका सहरबाट पनि सेवा दिने गरी कार्य भइरहेको जानकारी दिए।

उनले निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर जापानमा मृत्यु हुने नेपालीको शवलाई नेपाल लैजान सहयोग पुग्ने गरी आवश्यक गृहकार्य अघि बढाउने समेत बताए।

सोही कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा।दुर्गाबहादुर सुवेदीले अन्य प्रतिस्पर्धी वायु सेवाको तुलनामा नेपाल एयरलाइन्सले आफ्नो भाडादारमा सहुलियत दिने गरी सस्तो बनाउनका लागि निगमलाई आग्रह गरे।

‘चन्द्र सूर्य अंकित झन्डाको सम्मानका लागि पनि नेपाल एयरलाइन्सको प्रयोग गरिनु पर्छ’, उनले भने, ‘मैले ट्रान्जिट छैन र अन्य भन्दा सस्तो पनि छ भनेर नेपाल एयरलाइन्स प्रयोग गर्न अरूलाई आग्रह गर्न पनि भाडा दर सस्तो बनाइदिन निगमलाई आग्रह गर्दछु।’

नेपाल वायु सेवा जापानबासी नेपालीहरूको गौरव भएको र यस प्रतिका जनगुनासो तथा जिज्ञासाहरूको सम्बोधन हुनुपर्छ कार्यक्रम पश्चात् नागरिक न्युजसँग कुरा गर्दै एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले भने, ‘निगमले पनि सेवा, भाडादरको सहुलियतमा ध्यान दिनुपर्छ अनि जापानबासी नेपाली पनि नेपाल वायु सेवालाई माया गर्नुपर्छ।’

प्रकाशित: ९ फाल्गुन २०८० १८:३४ बुधबार

नेपाल वायु सेवा निगम