प्रवास

टेर्राकोट्टा योद्धाको बुढी औंला चोरी भएकोमा चीन रुष्ट

बेइजिङ – संयुक्त अधिराज्य अमेरिकामा प्रदर्शनमा राखिएको चिनियाँ टेर्राकोट्टा योद्धाको मुर्तीको बुढी औंला चोरी भएको भन्दै चीन रुष्ट भएको छ । फिलादेफेलियास्थित फ्रयांकलीन इन्सिच्युटले भाडामा लिएको १० वटा मुर्तीमध्ये करिब ४५ लाख डलर बराबरको दुई हजार वर्ष पुरानो मुर्तीको बुढी औंला चोरी गरेको आरोप लागेका एक व्यक्तिविरुद्ध कडा सजाय दिन मागसमेत गरिएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

टेर्राकोट्टा मुर्तीको बुढी औंला चोरेको र प्रमुख कलात्मक बस्तुमा क्षति पु¥याएको आरोपमा गत साता माइकल रोहाना नामक एक व्यक्तिलाई पक्राउ गरिएको थियो । उनलाई पछि जमानतमा रिहा गरिएको थियो । टेर्राकोट्टा योद्धाका मुर्ती चीनको एउटा महत्वपूर्ण पुरातात्विक खोजी हो।

सेल्फी र चोरी
‘गत डिसेम्बर २१ का दिन २४ वर्षीय रोहाना फ्रयांकलीन इन्सिच्युटमा आयोजना भएको ‘अग्ली स्वीटर पार्टी’ मा सहभागी भएका थिए । त्यसक्रममा उनी टेर्राकोट्टा योद्धाहरुको मुर्ती प्रदर्शनीमा सहभागी भएका थिए,’ अदालतको कागजातमा जनाइएको छ ।
रोहानाले आफ्नो मोबाइल फोनको फ्ल्यास लाइट प्रयोग गरेको र प्रदर्शनीमा रहेका योद्धाहरुको सालिकमध्ये एउटासँग सेल्फी लिएको एफबिआईलाई उद्धृत गर्दै राज्य सञ्चालित चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । त्यसपछि रोहानाले मुर्तीको दाहिने हातमा आफ्नो हात लगेका थिए र त्यस मुर्तीबाट केही भाँचेको देखिएको थियो । त्यसरी भाँचेको बस्तु उनले आफ्नो गोजीमा हालेर प्रदर्शनी कक्ष छोडेका थिए।

संग्रहालयका कर्मचारीले मुर्तीको बुढी औंला हराइरहेको जनवरी ८ मा मात्रै पत्ता लगाएका थिए । त्यसपछि अमेरिकाको संघीय जाँचबुझ आयोग एफबिआईले अनुसन्धान थालेको थियो । एफबिआईको अनुसन्धानले रोहानाले मुर्तीको बुढी औंला चोरी गरेको पत्ता लागेको थियो । उनले मुर्तीको बुढी औंला आफूले लगेको र डेस्कको ड्रअरमा राखेको स्वीकार गरेका थिए।

अमेरिकाको फ्रयांकलीन इन्सिच्युटलाई मुर्ती भाडामा दिएको राज्य सञ्चालित सान्सी साँस्कृतिक सम्पदा प्रमोसन केन्द्रका निर्देशकले सोमबार फ्रयांकलीन इन्सिच्युटले मुर्तीहरुप्रति गैरजिम्मेवार व्यवहार प्रकट गरेको भन्दै घटनाको निन्दा गरेका छन् ।
‘दोषीमाथि कडाभन्दा कडा सजाय दिन अमेरिकासमक्ष हामीले आग्रह गरेका छौं, निर्देशक वु हाइयुनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

मुर्तीमा भएको क्षति पत्ता लगाउन र बुढी औंलालाई पुनर्निर्माण गर्न केन्द्रले दुई जना विज्ञलाई अमेरिका पठाउन लागेको पनि निर्देशक वुले बताए । मुर्तीमा भएको क्षतिका लागि क्षतिपूर्तिको दाबीसमेत गरिने उनले जानकारी गराएका छन्।

फ्रयांकलीन इन्सिच्युटमा प्रदर्शनमा राखिएका १० वटा मुर्ती माटोबाट बनेको पूर्ण कदको आठ हजार सेनामध्येको हो । ती आठ हजार सेनाले नै टेर्राकोट्टा सेना बनेको थियो । ती मुर्तीहरु २१० बिसीमा मृत्यु भएका चिनियाँ सम्राट किन सी हुवाङले बनाएका थिए । मुर्तीहरुले आफू मरिसकेपछि आफ्नो सुरक्षा गर्ने विश्वाससहित सम्राट किनले ती मुर्तीहरु बनाएका थिए । मूर्तीहरुलाई चिनियाँ किसानहरुले सन् १९७४ मा चिनियाँ सहर सियानमा पत्ता लगाएका थिए।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०३:५१ मंगलबार

टेर्राकोट्टा योद्धाको बुढी औंला चोरी भएकोमा चीन रुष्ट