प्रवास

दुवईमा नेपाल एयरलाइन्सको नयाँ कार्यालय

युएई – राष्ट्रिय ध्वजाबाहक  नेपाल वायु सेवा निगम (नेवानि) को दुवईमा नयाँ कार्यालय उद्घाटन गरिएको छ। शुक्रबार युएईको दुबई स्थित देराको सलाहुदिनमा नेवानिले विधिवत रुपमा आफ्नो नयाँ कार्यालय उद्घाटन गरेको हो।

नयाँ कार्यालय नेपाली दूतावास युएईका कार्यवाहाक राजदूत सागर प्रसाद फुयाल र नेपाल वायुसेवा निगम वाणिज्य विभागका निर्देशक जनकराज कलाखेतिले संयुक्त रुपमा उद्घाटन गरे। उद्घाटनको क्रममा कार्यवाहक राजदूत सागर प्रसाद फुयालले नेवानिले नेपालीलाई दिदै आएको सेवा सुविधाको प्रशंसा गर्दै आगामी दिनमा हप्तामा सातै दिन नेपाल दुबई सिधा उडान गर्न सकोस भन्ने शुभकामना दिए। 

‘हामीले विधिबत रुपमा आफ्नै कार्यलय उद्घाटन गर्न सफल भएका छु’, नेपाल एयर लाईन्सका कन्ट्रि म्यानेजर रमेश पौडेलले नागरिक न्युजसंग भने, ‘नेवानिले सिधा उडान गरेदेखी आज सम्म साथ दिदै आउनु भएका सम्पुर्णमा आभार व्यक्त गर्दछु।‘

नेवानिले ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै नेवानिको आफ्नै वेबसाइटबाट अनलाईन टिकट बुकिङ गर्न सक्ने व्यवस्था समेत संचालन गरी सकेकाले नेवानिको टिकट लिन चाहानेहरुले नेवानिको वेबसाइटबाटै टिकट बुक गर्न सकिने पौडेलले बताए। 

उद्घाटनमा युएईमा स्थापित नेपाली संघ संस्थाका पदाधिकारीहरु, पत्रकारहरु लगाएतका नेपलाहरुको उपस्थिति रहेको थियो।

नेवानिले २०७३ भदौ २ गतेबाट हप्तामा चार दिन आईतबार सोमबार, बुधबार र शुक्रबार नेपाल –दुबई सिधा उडान गर्दै आएको छ। 

 

प्रकाशित: १४ माघ २०७४ ०८:२३ आइतबार

दुवईमा नेपाल एयरलाइन्सको कार्यालय