प्रवास

जनसम्पर्क समिति युएईद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

युएई- नेपाली जनसम्पर्क समिति युएईले झापा, मोरङ र सुनसरीका बाढीपीडितको निम्ति ४ लाख ३० हजार रुपैयाँ राहत रकम नेपाल पठाएको छ।

केही दिन पहिले तराईमा आएको  वर्षा र बाढीले धनजनको ठूलो क्षति भएको थियो। त्यसपछि नेपाली जनसम्पर्क समितिले केन्द्रिय कोषाध्यक्ष मणिकुमार लामाको संयोजकत्वमा हरि खड्का, ऋषि बस्याल, विनोद तमाङ, भूमिराज चालिसे तथा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहने गरी राहत संकल समिति गठन गरिएको थियो।

समितीको  केन्द्रिय र क्षेत्रीय समितिमा आवद्ध सदस्य, शुभेच्छुक र अन्य ईच्छुक नेपालीहरुबाट राहत उठाई कुल रकम १५ हजार ५ सय ३६ युएई दिराम अर्थात  नेपाली ४ लाख ३० हजार रुपैया संकलन गरिएको थियो।

उक्त रकम बुधबार नेपाली जनसम्पर्क समिति युएईका सभापति खेमराज बस्नेतमार्फत नेपाल पठाइएको जनसम्पर्क समिति युएईका महामन्त्री कृष्ण गौतमले जानकारी दिए। नेपाल पठाएको आर्थिक सहयोग काङ्ग्रेस केन्द्रीय सदस्यहरु शेखर कोइराला, गुरुराज घिमिरे र विश्वप्रकाश शर्मामार्फत सुनसरी, मोरङ र झापामा वितरण गरिनेछ।                                     

'हामीले विगतका दिनहरुमा पनि सहयोग गर्दै आइरहेका छौं', नेपाली जनसम्पर्क समितिका सभापति खेमराज बस्नेतले नागरीकन्युजसँग भने, 'बाढीपीडितलाई राहत मिलोस भनेर सहयोग गरेका हौं।' 

प्रकाशित: ८ भाद्र २०७४ १२:०१ बिहीबार

जनसम्पर्क समिति युएईद्वारा बाढीपीडितलाई