प्रवास

स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो

लण्डन –  २० वर्ष पछि हुन लागेको नेपालको स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो समेत जोडिएको छ । त्यस चासोलाई सम्बोधन गर्दै विश्वभर फैलिएर बसेका नेपाली प्राज्ञहरूको संस्था ग्लोबल पोलिसी फोरम फर नेपालले चुनाव निश्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

‘२० वर्षको अन्तरालमा हुन लागेको स्थानीय चुनावपछि संविधान कार्यान्वयनको पहिलो चरण पार हुनेछ’ फोरमका अध्यक्ष प्राध्यापक तथा बेलायतका क्युसी सूर्य सुवेदीद्वारा बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो अतिआवश्यक कदम हो । पुरै विश्वले यसमा चासो दिएको हामीले देखिरहेका छौं ।’

फोरमले गणतन्त्र कार्यान्वयनमा देखिएका अन्य व्यवधान र तिनका समाधानका विषयमा आगामी जुन २५ मा बेलायतको लिभरपुल जोन मुअर्स विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्मेलन पनि आयोजना गर्न लागेको छ । सुवेदीका अनुसार सम्मेलनले नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गर्नेछ ।

सम्मेलनले आर्थिक नाकाबन्दीको विरुद्ध आवश्यक परे अन्तराष्ट्रिय न्यायिक र अर्ध न्यायिक निकायमा जानका लागि नेपाल सरकारले उपयुक्त ठानेमा कानूनी सहयोग गर्न तत्पर रहेको सुझाव दिएको थियो । यसपटकको बेलायतमा हुन लागेको सम्मेलनले नेपालको संविधान कार्यान्वनमा देखिएका समस्यामा छलफल गरी नेपालको सरकार, संसद र अन्य निकायहरुलाई ती समस्याको समाधानको लागि र अन्य आर्थिक विकासका विषयमा पनि ठोस सुझावहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।

उक्त संस्थाका संस्थापक सदस्य तथा कोषाध्यक्ष लिभरपुल जोन मुअर्स विश्वविद्यालयका प्राध्यापक एवं असोसिएट डिन पदम सिंखडाको संयोजनमा हुन लागेको हो । सम्मेलनको अध्यक्षता संस्थाका अध्यक्ष तथा लिड्स विश्वविद्यालयका प्राध्यापक एवं बेलायतका क्युसी सूर्यप्रसाद सुवेदीले  गर्ने छन्। 

प्रकाशित: २८ वैशाख २०७४ ११:२६ बिहीबार

स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो