प्रवास

एनआरएन नेदरल्याण्डले गोरखाको विद्यालय पुनःनिर्माण गर्ने

काठमाडौँ – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) नेदरल्याण्डले गोरखाको मान्बु –६ स्थित श्री सिद्धार्थ बनस्थली निम्न माध्यामिक विद्यालय पुनः निर्माण गर्ने भएको छ । 
संघको  सन् २०१७ जनवरी २२ को कार्यसमितिको बैठकले विद्यालय पुनः निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयानुसार संघका वरिष्ठ उपाध्यक्ष केशव पाण्डे र उपाध्यक्ष महेन्द्र सुबेदीलाई आवश्यक जानकारी  लिन तथा सम्झौता गर्न जिम्मेवारी दिइएको छ । 
आगामी कात्तिकमा विद्यालय हस्तान्तरण गर्नेे लक्ष्य सहित संघले विद्यालय निर्माणका लागि १० बुँदे शर्त राखेको छ  । 
यस्ता छन् शर्तहरू
१) गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद९एनआरएनए० नेदरल्यान्ड्स बाट प्राप्त नक्शाको आधारमा भवन निर्माण गरिने छ ।

२) भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक तथा नेपाल सरकारको मापदण्ड पूर्ण रुपमा पालना हुनेछ।

३) निर्माण अवधिमा नेपाल सरकारका प्राविधिकहरूको सुपरिवेक्षण गराउने तथा सरकारी कागजातहरूको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको हुनेछ। 

४) कमसल र गुणस्तरहीन निर्माण सामग्रीहरूको प्रयोग गरिने छैन।

५) संघले  विद्यालय निर्माणका लागि १३ लाख ७६ हजार ४ सय  तीन किस्तामा निकासा हुने गरी विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराउने छ।

 ६) किस्ता रकम निर्माण हुने समयको आधारमा वर्गीकरण गरेर क्रमश पहिलो किस्ता वापत २५ प्रतिशत, दोस्रो किस्ता वापत २५ प्रतिशत र बाँकी ५० प्रतिशत किस्ता रकम निर्माण सम्पन्न पश्चात निकासा गरिने छ। 

७) आवश्यक जनश्रमदान जुटाई निर्माण सम्पन्न गर्ने जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको हुनेछ । 

८) यस सम्झौता पत्रमा उल्लेखित रकम बाहेक निर्माण प्रयोजनका लागि कुनै थप रकमको माग गर्न पाइने छैन । 

९) सम्झौता पत्रमा हस्ताक्षर पश्चात निर्माण चरणको कार्यारम्भ भएको मानिने छ भने विद्यालय व्यवस्थापन समितिद्वारा सम्झौता पत्र हस्ताक्षर भएको मितिले अधिकतम ८ महिना भित्र भवन निर्माणका सम्पूर्ण कार्यहरु सम्पन्न गर्नु पर्ने छ । 

१०) भवन निर्माण पश्चात वि.सं.२०७४ कार्तिकसम्ममा संघको बिश्व सम्मेलनताका एनआरएन नेदल्यान्ड्सका पदाधिकारीको हातबाट विद्यालय भवन  स्थानीयलार्इ हस्तान्तरण गरिने छ। 

 

प्रकाशित: २५ चैत्र २०७३ १०:४५ शुक्रबार

एनआरएन नेदरल्याण्डले गोरखाको विद्यालय पुनःनिर्माण गर्ने