न्यूयोर्क – न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टले न्युयोर्क बस्दै आएका दुई नेपाललीलाई कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको बोर्ड मेम्बरमा नियुक्त गरेको छ ।
क्वीन्स बोरोकी अध्यक्ष मेलिन्डा क्याजले हालै मोहन ज्ञवाली र लोप्साङ ठिले शेर्पा सालाकालाई बोर्ड ५ र बोर्ड ३ का लागि सदस्यमा नियुक्त गरेकी हुन् । यो नियुक्ती पाउने उनीहरू पहिलो नेपाली हुन । उनीहरू दुवैलाई गत अप्रिल १ बाट आगामी सन् २०१९ मार्च ३१ सम्मलाई यो जिम्मेवारी दिएको जनाइएको छ ।
क्वीन्स संभवत अमेरिकामै सबैभन्दा धेरै नेपाली आप्रवासी बसोबास रहेको क्षेत्र हो । सरकारी तथ्याङ्क अनुसार क्वीन्सको कूल जनसंख्यामा झण्डै आधा जनसंख्या आप्रवासीहरूको रहेको छ । अमेरिकाको केही सहरहरूमा यस्तो खाले ‘बोरो’को व्यवस्था गरिएको छ । जसलाई सिटी गर्भेमेन्ट मातहतको नगरपालिका सरह मानिन्छ।
पदको सपथ ग्रहण तीन सातापछि तय गरिएको ज्ञवालीले बताए । नियुक्ती पत्रमा अध्यक्ष क्याजले क्वीन्स बोरोको बासिन्दाको रुपमा ज्ञवालीको विगतको समुदायिक कार्य, प्रतिबद्धताको प्रशंसा गरेकी छिन् । प्राप्त जिम्मेवारीले क्वीन्सको स्थानीय तहमा नेपाली समुदायको योगदानलाई अझैं वृहत बनाउन आफू सक्रिय रहने ज्ञावालीले बताए । अर्घाखाँचीमा जन्मिएका ज्ञवाली १९९६ देखि न्यूयोर्कमा बसोबास गर्दैे रिजउड क्षेत्रमा नेपाली समाजमा पुर्याएको योगदान र सक्रियतालाई मूल्याङ्कन गरी सिटीले उनलाई बोर्डमा नियुक्त गरेको बताइएको छ ।
सिन्धुपाल्चोक तातोपानी अर्का नवनियुक्त लोप्साङ सन् १९९८ मा अमेरिका आएका थिए । अमेरिकामा नेपाली युवाहरूले मिहेनत गरेमा धेरै कुरा सिक्न र प्राप्त गर्न सकिने बताउने उनी भन्छन्, ‘यो जिम्मेवारीले नेपाली समुदायलाई न्युयोर्कसिटी र संघीय सरकारसँग काम गर्ने तरिकाको बारेमा बुझ्न सजिलो हुनेछ।’
नगरभित्र बोर्डले शिक्षा, वातावारण, स्वास्थ्य तथा मानव सेवा, घर व्यवसाय, जनसुरक्षा, सार्वजानिक यातायात, सरसफाई, बजेट, प्रहरी लगायतका विषयमा स्थानीय सरकारसँग कार्य गर्दछ। पछिल्लो समय नेपालीहरु विभिन्न स्थानीय तहमा काम गर्दै राजनीतिमा समेत संलग्न हुन थालेका छन्।
प्रकाशित: २५ चैत्र २०७३ ०७:०८ शुक्रबार