प्रवास

विदेशी लगानी आब्हान गर्दै लण्डनमा उद्योगमन्त्रीले भने: लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता

लन्डन- उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्। लण्डनका लर्ड मेयर डा एण्ड्रयु पाम्लीद्वारा ब्रिटिश व्यवसायीहरुकालागि नेपालको जलविद्युत क्षेत्रमा लगानीका अवसरहरु विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री जोशीले नेपालमा नयाँ संविधानको घोषणा पछि नयाँ सरकार देशको आर्थिक रुपान्तरणकालागि लागिपरेको बताए। मार्च महिनाको पहिलो साता काठमाडौंमा आयोजित लगानी सम्मेलनमा साढे तेह्र अर्ब डलर बराबरको विदेशी लगानी संबन्धी मनसायपत्र प्राप्त भएको बताउँदै उनले विदेशी लगानीकर्ताहरुलाई हरसंभव सजीलो बनाउन सरकारले काम गरिरहेको बताए।

मन्त्री जोशीले विदेशी कम्पनी खोल्न, आयोजना सन्चालन गर्न तथा लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता लैजान पाउने व्यवस्था मिलाउन सरकारले विभिनन्न कदमहरु चालेकेा बताए। कम्पनी ऐन, औद्योगिक प्रबर्द्न बोर्ड ऐनमा संशोधन लगायत विदेशी  लगानी तथा प्रविधि हस्तान्तरण नीतिमा पनि सुधार गरिएको उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफिड) का राज्यमन्त्री रोरी स्टुअर्टले नेपालमा जलविद्युतको विकासमा सघाउन डिफिड लागीपरेको बताए। उनले ब्रिटिश कम्पनीहरुले अफ्रिकी मुलुकहरुमा जलविद्युत क्षेत्रमा लगानी गरिरहेकेा तर नेपालमा लगानीको व्यापक संभावना रहेको बताए। नेपालमा एसियाकै आर्थिक शक्ति बन्नसक्ने संभावना रहेकेा छ र त्यसमा सघाउन ब्रिटिश सरकार तयार छ, उनले भने।

नेपालका लागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले काठमाडौंमा हालै सम्पन्न लगानी सम्मेलन पछि विदेशी लगानीकर्ताहरु पनि निकै उत्साहित भएको र नेपाल सरकार पनि लगान‌ि भित्र्याउन प्रतिबद्ध देखिएको बताए। उनले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्न आह्वान पनि गरे। ब्रिटिश राजदूतावासले ब्रिटिश लगानीकर्ताहरुको जानकारीकालागि एउटा पुस्तिका समेत प्रकाशित गरेको छ।

कार्यक्रमलाई सम्वोधन गर्दै लर्ड मेयर डा एण्ड्रयु पाम्लीले गत नोभेम्बर महिनामा आफुले नेपालको भ्रमण गरेको स्मरण गर्नै नेपाल संभावनै संभावनाले भरिएको मुलुक भएको बताए। उनले नेपालमा आउँदो दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गर्न झण्डै २० अर्ब पौण्ड बराबरको लगानी चाहिने उनले बताए। उनले ब्रिटेनका वित्तीय, कानुनी तथा इन्जीनियरिङ कम्पनीहरुलाई नेपालमा गएर काम गर्न सुझाव पनि दिए।

सो अवसरमा बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर क्षेत्रीले नेपालमा जलविद्युत, पर्यटन, पूर्वाधार विकास, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्न अहिले उपयुक्त अवसर भएको बताए।

कार्यक्रममा डोल्मा इम्प्याक्ट फण्डका टिम गोचर तथा हाइड्रोप्लानका किरोन हान्सनले नेपालमा जलविद्युत क्षेत्रमा लगानीकाबारे कार्यपत्रहरु प्रस्तुत गरेका थिए।

 

 

 

प्रकाशित: ११ चैत्र २०७३ ११:२८ शुक्रबार

विदेशी लगानी आब्हान गर्दै लण्डनमा उद्योगमन्त्रीले भने लगानी गरेकै मुद्रामा मुनाफा