प्रवास

अमेरिकामा काँग्रेस र एमाले भातृसंस्थाको कुम्भमेला

न्यूयोर्क—अमेरिकामा रहेर नेपालको राजनीतिक संगठनको भातृसंस्थाको रुपमा सक्रिय जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च अमेरिका क्षेत्रीय भेला र अधिवेसनकोे तयारीमा जुटेका छन्। कांग्रेसको भातृसंस्था जनसम्पर्क समितिले अप्रिल २२ मा भर्जिनियामा साधारण सभाको आयोजना गर्दैछ भने नेकपा एमालेको भातृ संस्थाको रुपमा रहेको प्रवासी नेपाली मञ्च दोस्रो अधिवेशन मेरियाल्याण्डको बाल्टिमोरमा हुँदैछ।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द गोरख विष्टले साधारण सभा स्थगित भयो भन्ने हल्लामा सत्यता नभएको बताउँदै निर्धारित समयमा साधारण सभा हुने र त्यसै साधारण सभाले च्याप्टरहरुको अधिवेसन गर्ने बताए। हाल नेपालमा रहेका समितिका अध्यक्ष विष्टले साधारणसभाको तयारी तीव्र भैरहेको र कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै आउने तय भएको जानकारी दिए।

‘राजनीतिक अवस्थाको कारण कति सम्भव हुन्छ अहिलै भन्न सकिँदैन। केन्द्रीय नेतृत्वलाई निमन्त्रणा गर्न म अहिले नेपालमै छु’, उनले भने। नियमित कार्यक्रमअनुसार नै साधारण सभा गर्न लागेकोले रोक्नु पर्ने वा विवाद गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो।

उता असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्वसंयोजक बिष्णु सुवेदीले एकै दिन न्युयोर्कमा डेलिगेट भेलाको आह्वान गरेपछि समितिको विवाद सतहमा आएको छ। साधारणसभाको तयारी तीव्र गतिमा भैरहेको बताउँदै मुल आयोजक समितिका संयोजक केशब बरालले भने रोकिनु पर्ने कुनै कारण नभएको र फेसबुकमा आएका हल्लाले कुनै प्रभाव नपार्ने दाबी गरे।

यता प्रवासी नेपाली मञ्चको यही मार्चको ३१ तारिखदेखि २ अप्रीलसम्म चल्ने अधिवेसनले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व छान्नेछ। अध्यक्ष सन्जय थापाले अधिवेसन उद्घाटनका लागि पार्टी अध्यक्ष केपी ओली अमेरिका आउने दाबी गरे।

अधिवेशन लक्ष्यित गरी पार्टी नेताहरु युवराज कार्की अमेरिका आइसकेका छन्। खगराज अधिकारी, पृथ्वी सुब्बा गुरुड सम्मेलनमा सहभागी हुन आउने उनले बताए।

एक हजार साधारण सदस्य रहको बताउँदै अध्यक्ष थापाले भने तीन दिनसम्म चल्ने अधिवेशनमा १५ वटा च्याप्टर र २४ वटा राज्यहरुबाट २ सय प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन कमिटि र अतिथिहरु गरी ३ सय जनाको सहभागीता रहनेछ।

सन् २०१३ मा स्थापना भएको प्रवासी मन्चले अधिवेसनका लागि सबल प्रवासीः समृद्ध नेपाल नारा तय गरेको छ। सो अधिवेसनको बन्द सत्रमा अमेरिकामा रहेका नेपालीहरुको अवस्था र बदलिँदो परिस्थितिमा आउन सक्ने चुनौतीबारे छलफल गरी निष्कर्ष निकालिनेछ।

अप्रिल २ तारिकका दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ। जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष चार जना क्षेत्रिय उपाध्यक्ष महासचिव, सचिव र चार क्षेत्रिय सचिव महिला विभाग, सचिवालय गरी ३३ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन्। 

 

प्रकाशित: ११ चैत्र २०७३ ०५:५५ शुक्रबार

अमेरिकामा काँग्रेस एमाले भातृसंस्थाको कुम्भमेला