प्रवास

युएईका नेपालीले होली मनाए

युएई - युएइमा बस्दै आएका नेपालीहरुले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएईमा रहँदै आएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्।

युएईको बरदुबईमा नेपाली ट्राभल, रेष्टुरेन्ट, फेन्सी पसलहरु र यहाँका पार्कहरुमा गएर एक आपसमा रंग खेल्दै होली मनाइएको हो।

एक अर्कालाई रंग लगाउँदै रमाइलो गरेको देख्ने अन्य मुलुकका पर्यटकहरु पनि नेपालीको होलीमा सहभागी भएका थिए। उनीहरुले नेपालीको धुनमा नाच्दै रंग लगाउने कार्यमा साथ दिएका थिए।

युएईको दुबइमा कार्यरत सुबास शर्माले विदेशी भूमिमा आफ्नो चाड मनाउन पाउँदा खुशी लागेको बताए। दुबइमै कार्यरत समाजसेवी तोयनाथ लम्सालले मरुभूमिमा काम गरिरहेका नेपालीबीच होली खेल्न पाउँदा विदेशी जीवन नै रंगमय बनेको सुनाए। होलीले सबै नेपालीमा सद्भाव र एकता बलियो बनाउने उनको धारणा छ। 

 

नेपालीहरुको होली कार्यक्रममा युएइमा बसोबास गर्दै आएका व्यवसायी तथा पेशाकर्मीहरुको उपस्थिति थियो।

प्रकाशित: १ चैत्र २०७३ ०८:३९ मंगलबार

युएईका नेपालीले होली मनाए