प्रवास

‘युवाको समस्या नबुझ्नु नेतृत्वको महाभूल’

काठमाडौं— युरोप भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय राजनीति समाधान तथा योजनामुखी नभएकै कारण ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेको बताएका छन्।

नेपाली जनसम्पर्क समिति डेनमार्कले कोपनहेगनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  केन्द्रीय सदस्य पौडेलले राजनीतिक नेतृत्वले युवाको समस्या नबुझ्नु गम्भीर भूल भएको बताए। राजनीतिक स्थायित्वको अभावमा मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्र तथा धर्म निरेपक्षता विरोधीहरुको आवाज बुलन्द भइरहेको भन्दै उनले समयमै सचेत हुन राजनीतिक नेतृत्वलाई आग्रह गरे।

विगतमा प्राप्त उपलब्धिहरुमाथि यसरी नै धावा बोलिने हो भने लोकतन्त्र नै समाप्त हुन सक्ने भनाइ पौडेलको थियो। जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, जन सम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य लगायतका  वक्ताहरुले नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्र मुलुकलाई जस्तो सुकै समस्याको निकास दिन सक्ने धारणा राखेका थिए।

पार्टीले जनसम्पर्क समितिहरुको भूमिका बढाउँदै लैजानु पर्ने सुझाव उनीहरुले व्यक्त गरे।

प्रकाशित: १७ पुस २०७३ १२:२५ आइतबार

युवाको समस्या नबुझ्नु नेतृत्वको महाभूल