प्रवास

जापानीले समेत मनाए म्हपूजा

म्ह पूजामा सहभागी हुँदै जापानीहरु।

टोकियो— जापानमा नेवार समुदायको क्रियाशील संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित नेपाल सम्वत ११३७ तथा म्हपूजा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। पूजामा जापानी नागरिक समेत सहभागी भए।

झण्डै १२० जना सहभागी रहेको कार्यक्रममा प्रत्येकका निम्ति मण्डप तयार गरिएको थियो। नेवार लगायत अन्य जाति तथा जापानिज आगन्तुकहरुको समेत सहभागिता रहेको कार्यक्रममा जापानका विभिन्न संघ संस्थाका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो।

'हामीले जापानमा पहिलो पटक यति धेरै संख्यामा सामुहिक म्हपूजा गर्‍यौं', संस्थाका महासचिव शिव तण्डुकारले भने, 'हामी जुनसुकै देशमा बसे पनि हाम्रो संस्कृतिलाई हामीले भुल्नुहुँदैन।'

टोकियो कितासुना दान्ची हलमा आयोजित कार्यक्रममा पहिलो चरणमा नेपाल सम्बत्को प्रवर्तक शंखधर साख्वाको फोटोमा दीप प्रज्वलन र माल्यार्पण गरी नेपाल संवत ११३७ को शुभकामना आदान प्रदान गरिएको थियो।

दोस्रो चरणमा नेवारी परम्परा अनुसार म्ह पुजा गरिएको थियो। कुनै रोगव्याद नलागोस् भनि शरिरको पूजा गर्ने म्ह पूजा पहिले पटक गरेको भन्ने आगन्तुकहरू पनि थिए। साथै नेवारी परिकारमा रमाएका आगन्तुकहरु नेवारी सांस्कृतिक कार्यक्रममा पनि रमाए।

नेपालमा मनाइने एउटै तिथि र मितिमा गर्न नसकेपनि प्रवासमा रहेर नेवारहरुको मौलिक चाड मनाउन पाएकोमा सहभागीहरु निक्कै खुशी देखिन्थे। कार्यक्रममा संस्थाको सदस्य समेत रहेका नेपाली किक बक्सिङ्ग खेलाडी मोहन महर्जन ड्रागनलाई हालै टोकियोमा सम्पन्न भएको एक प्रख्यात प्रतियोगितामा बिजयी भएकोमा सम्मान गरिएको थियो।

आगामी मार्च ३ तारिक हुन लागेको अर्को महत्वपूर्ण प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दै सगुन खुवाइएको थियो। कार्यक्रम आयोजना गर्नुको प्रमुख उदेश्य भनेको प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति निरन्तरता दिने, नयाँ पुस्तालाई संस्कार सिकाउदै जाने र जापानमा रहेका जापानिज र अन्यजातिका व्यक्तिहरुलाई परिचय दिदै जाने रहेको संस्थाकी अध्यक्ष गंगा डंगोलले बताइन्।

टोक्यो जस्तो व्यस्त शहरमा आफ्नो व्यस्तताको बाबजुद पनि कार्यक्रममा सहभागी भई भव्यरुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरुमा आयोजक नेवा:अन्तराष्ट्रिय फोरम जापानले हार्दिक आभार व्यक्त गरेको छ।

जापानीले समेत मनाए म्हपूजा